बिर्तामोड । फागुन २१ गते हुने निर्वाचनको लागि झापा जिल्लामा हालै दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन कानुन सम्बन्धी अध्यादेशपछि थपिएका यी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपल्ट मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार नयाँ मतदाता थपिएसँगै अब झापामा मतदाताको कुल संख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि जिल्लामा ६ लाख ८० हजार ३७१ जना मतदाता थिए ।
अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम तीव्र बनेको छ । “मतदाताको सूचीमा नाम लेखाउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भने, “एकै दिन तीन सय जनासम्म नयाँ मतदाता दर्ता हुन आउनुभएको छ । नयाँ पुस्तामा निर्वाचनमा सहभागी हुने उत्साह बढेको पाइएको छ ।”
निर्वाचन कार्यालयका अनुसार यही कात्तिक २ गतेसम्ममा दुई हजार ६२२ जना नयाँ मतदाता दर्ता भएका छन् । कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको छ ।