मोरङमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ ।
दशैंपछि सुरु हुने तिहार पर्वका अवसरमा विभिन्न स्थानमा हुने देउसी–भैलो, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मर्यादित र अनुशासनपूर्ण तरिकाले मनाउन आग्रह गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो । प्रजिअ यादवले देउसी–भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । कानून विपरीतका गतिविधि पाए कारबाही हुने चेतावनी समेत दिएका छन् । साथै शंकास्पद गतिविधी गरेको देखिए तत्काल १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

चाडवाडको बहानामा धार्मिक, जातिय वा सामाजिक सदभावमा खलल पुर्याउने कुनैपनि गतिविधि साथै मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिठ्ठा, जुवातास, कौंडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने र नगराउन पनि आग्रह गरेको छ । चार्डपर्वको समयमा सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिनें, ट्राफिक नियमको पालना गर्ने र गराउने, यात्रुहरुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरी युनिटमा सम्पर्क गर्न पनि प्रशासनले आमनागरिकमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तह, सुरक्षा निकाय र नागरिकलाई तिहार पर्वका अवसरमा शान्ति, सद्भाव र मर्यादामा रहि पर्व मनाउन सहयोग गर्न आग्रह गरेको छ ।

कार्तिक २, २०८२, बिहानको १०:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर