झुम्का कारागारबाट भागेका कैदी स्कुटर चोरी गरेपछि पक्राउ

विराटनगर । जेनजी आन्दोलनको समयमा गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका एक जना कैदी विराटनगरमा स्कुटर चोरी गरेर भाग्दै गर्दा पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति १०ः३० बजेतिर पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका जैसवाललाई विराटनगर–१६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई
नेतृत्वको टोलीले चेकजाँचका क्रममा शंका लागेपछि स्कुटरलाई नियन्त्रणमा लिएको थियो ।

स्कुटरको कागजपत्र नभएको देखिएपछि सोधपुछका क्रममा जैसवाल झुम्का कारागारबाट भागेको पत्ता लागेको प्रहरीले जनाएको छ । जैसवाल यसअघि पनि मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए ।

चोरी मुद्दामा जिल्ला अदालत सुनसरीले दोषी ठहर गर्दै गत जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको थियो । अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनी अन्य कैदीबन्दीसँगै भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए । विराटनगरबाट पनि स्कुटर चोरी गरेर भारततिर लैजाँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रबाट जैसवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीको स्कुटर पनि बरामद गरेको छ । जैसवालविरुद्ध मोरङ प्रहरीले चोरी मुद्दा चलाउने तयारी गरेको छ । त्यसपछि बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाइने प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले जिल्ला कारागार सिन्धुलीबाट फरार भएका अर्का एक जना कैदी पनि पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–३ सोराभागबाट ३९ वर्षीय उपेन मण्डललाई पक्राउ गरिएको डीएसपी चुँडालले बताइन् ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी जेनजी आन्दोलनका बेला भदौ २४ गते फरार भएका थिए । जिल्ला अदालत मोरङले उनलाई ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका उनी अरु कैदीबन्दीसँगै भदौ २४ गते भागेका थिए । अब उनले १ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अशोज ३०, २०८२, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर