जिल्ला प्रशासन कार्यालय मोरङ उत्कृष्ट सातमा

विराटनगर । गृह मन्त्रालयले आ.व. २०८१–०८२ को चौथो त्रैमासिक (वैशाख–असार) कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । उक्त मूल्यांकन अनुसार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये मोरङ जिल्ला प्रशासन कार्यालय सातौँ स्थानमा पर्न सफल भएको छ । एकै श्रेणीमा दुई जिल्लाले समान अंक प्राप्त गरेकाले मोरङ सातौँ स्थानमा परेको हो ।
मन्त्रालयका अनुसार मूल्यांकनमा धनकुटा, नुवाकोट, पूर्व रुकुम, मनाङ, भक्तपुर, पर्वत, मोरङ, दाङ, पाटन (ललितपुर), र रुकुम पश्चिम उत्कृष्ट १० जिल्लामा परेका छन् । कार्यसम्पादन मूल्यांकनमा प्रशासनिक दक्षता, सेवा वितरणको प्रभावकारिता, नागरिक बडापत्र कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, कानुनी व्यवस्था कार्यान्वयन, शान्ति–सुरक्षा व्यवस्थापन, दर्ता र नागरिकता सेवा, सुशासन प्रवद्र्धन लगायत सूचकका आधारमा अंक प्रदान गरिएको हो ।

मन्त्रालयले कार्यसम्पादन मूल्यांकन प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको छ । यसले सेवाप्रदायक संस्थाहरूलाई अधिक उत्तरदायी, जवाफदेही र जनमुखी बनाउने अपेक्षा लिइएको छ ।मोरङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सेवामा पारदर्शिता, विवाद समाधानमा तदर्थता, सुशासन प्रवद्र्धन र नागरिकता वितरण प्रक्रियामा दक्षता देखाएको कारण उत्कृष्ट सूचिमा पर्न सफल भएको हो ।

गृह मन्त्रालयका अनुसार मूल्यांकनको नतिजा आगामी आवमा समेत नीति, योजना र अनुगमन कार्यमा मार्गदर्शकका रूपमा उपयोग गरिनेछ ।

अशोज ३०, २०८२, बिहानको ०९:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर