जेनजी आन्दोलनको क्षति मूल्यांकन आयोगले विराटनगरमा छलफल गर्दै

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न ठाउँमा भएको आगजनी, तोडफोड र लुटपाटबाट सिर्जित क्षति मूल्यांकनका लागि गठित जाँचबुझ आयोग, २०८२ ले बिहीबार विराटनगरमा छलफल गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा आयोजना हुने उक्त छलफल मोरङ उद्योग तथा व्यापार संघको सभाहलमा बिहान १० बजे सुरु हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि, नागरिक समाजका सदस्य र पत्रकारहरूको सहभागिता रहनेछ । छलफलमार्फत आयोगले आन्दोलनका क्रममा भएको क्षति, त्यसको प्रभाव र पुनःस्थापनाका सम्भावित उपायबारे सरोकारवाला पक्षसँग सुझाव संकलन गर्ने तयारी गरेको छ ।

गत भदौ २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालयहरू, प्रदेशसभा भवन, महानगरपालिका र वडा कार्यालयहरू, आन्तरिक राजस्व कार्यालयलगायतका सार्वजनिक कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट भएका थिए । आन्दोलनका कारण निजी क्षेत्रका उद्योग, व्यवसाय र व्यापारिक प्रतिष्ठानमा पनि क्षति भएको थियो ।

आयोगले घटनासम्बन्धी प्रत्यक्ष अनुगमन तथा सरोकारवाला निकायहरूसँगको छलफलपछि विस्तृत प्रतिवेदन तयार गरी संघीय सरकारलाई बुझाउने छ ।

अशोज ३०, २०८२, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर