निर्माण व्यवसायीको सहयोग: जलेको भवन बनेपछि मोरङमा परिचयपत्र सेवा पुनः सुरु

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले भवन जलेर नष्ट भएपछि रोकिएको जिल्ला प्रशासन कार्यालय मोरङको राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ बनाउने सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

निर्माण व्यवसायी संघ मोरङले जलेको भवनको ठाउँमा नयाँ संरचना निर्माण गरिदिएपछि स्थगित रहेको महत्त्वपूर्ण नागरिक सेवा पुनः सुरु भएको हो ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्दा राष्ट्रिय परिचयपत्र शाखाको भवन पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागीबाट भवनका साथै अधिकांश कागजात र उपकरणहरू जलेपछि प्रशासनले राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवाहरू स्थगित गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन निर्माण व्यवसायी संघ मोरङले महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रजिअ यादवले व्यवसायीहरूलाई जलेको भवनको पुनर्निर्माण र राष्ट्रिय परिचयपत्र वितरणका लागि भवन निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।

सोही आग्रहअनुसार संघले करिब २० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिदिएको निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्रले जानकारी दिए । उनका अनुसार, संघले राष्ट्रिय परिचयपत्र शाखाका लागि भवन बनाउनुका साथै आगजनीले क्षति पुगेको प्रशासनको मुद्दा शाखाको भवन पुनर्निर्माण र नागरिकता फाँटमा रङ्गरोगन समेत गरिदिएको छ ।

विभिन्न संघ–संस्थाको सहयोगमा जलेको प्रशासन भवनको मर्मतसम्भार र पुनर्निर्माण भएसँगै कार्यालयका सम्पूर्ण सेवाहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन् । अब मोरङका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउने र वितरणसम्बन्धी सेवा सहजै पाउने भएका छन् ।
प्रशासनका अनुसार, अब दैनिक रूपमा सयौं नागरिकले परिचयपत्रसम्बन्धी सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । आगजनीको घटनापछि अस्तव्यस्त बनेको जिल्ला प्रशासन कार्यालयले जनसेवालाई निरन्तरता दिँदै सामान्य अवस्थामा फर्किएको जनाएको छ ।

अशोज २९, २०८२, साँझको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर