विराटनगर । मधेश प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबाहेकको सरकार बन्ने भएको छ । दुई ठूला दलहरूबाहेक अन्य ५ दलको सरकार बन्ने भएको हो ।
लोसपा, जसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ५ दलको गठबन्धन बनेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनार (सोनल)को नेतृत्वमा सरकार गठनको लागि दाबी पेश गर्ने सहमति भएको छ ।
कुल १०७ जना सांसद रहेको मधेश सभामा सरकार गठनको लागि ५४ जना आवश्यक रहेकोमा ५६ जनाको दाबीसहित सरकार गठनका लागि पेश गर्ने तयारी भएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार दलहरूलाई आज अपरान्ह ४ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
यसअघि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए ।
