विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ। प्रहरीले करिब १ लाख ६८ हजार २०० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार असोज २६ गते दिउँसो भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याई विराटनगर महानगरपालिकाका विभिन्न ठाउँमा बेवारिसे अवस्थामा राखिएका उक्त कपडाहरू फेला पारिएको थियो। कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ती कपडाहरू नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका लत्ताकपडाहरू आवश्यक कानूनी कारबाहीका लागि विराटनगरको रानीस्थित भन्सार कार्यालयमा बुझाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) कोपिला चुडालले जानकारी दिइन् ।
प्रहरीले चाडपर्वको समयमा हुन सक्ने यस्ता अवैध कारोबार र तस्करी नियन्त्रणका लागि सक्रियता बढाएको जनाएको छ।