जथाभाबी बोल्ने पूर्वएआइजीविरुद्ध साईबर व्युरोमा उजुरी

विराटनगर । नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी परेको छ ।

एक युट्युब च्यानलमा सुवेदीले आफ्नो इन्टिलिजेन्सको सूचनाको हवाला दिँदै नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको विरुद्ध गम्भीर आरोप लगाएपछि साइबर ब्युरोमा उजुरी परेको हो ।

टिकाराम यात्रीले चलाएको युट्युब च्यानलमा सुवेदीले जेनजी आन्दोलनको पूर्वसूचनाबारे सोधिएको प्रश्नमा आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए । उनले आन्दोलनबारे सुरक्षा निकाय र गुप्तचर निकाकयसँग पनि सम्पर्क नरहेकोले जानकारी नभएको उल्लेख गर्दै आन्दोलनको दुई दिनअघि भने प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुई वटा ट्रकमा निकालिएको दावी गरेका थिए ।

दुई करोड रुपैयाँ बोक्न दुई ट्रक प्रयोग भएको विषय हाँस्यास्पद रहेको भन्दै उनको आलोचना भएको थियो । प्रचण्डको सचिवालयले त्यसलाई पुष्टि गर्न चुनौति दिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार सुवेदीले आधारहिन कुरा राखेर चरित्रहत्या गर्न खोजेको, परिस्थितिलाई भड्काउन खोजेको र भ्रम सिर्जना गरेकोले कार्वाही गर्न माग गरिउको छ । ‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्यासमेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ ।

संयोजकको सचिवालयका तर्फबाट ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

अशोज २७, २०८२, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर