विराटनगर । नेकपा (माओवादी केन्द्र)ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रवाहित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार संयोजक प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले एक प्रेस नोट जारी गर्दै संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित रूपमा तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री फैलाइएको भन्दै त्यसको निन्दा र भर्त्सना गरेको छ ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रावधान, सम्बन्धित कानुन र पत्रकार आचारसंहिताको उल्लंघन भएको उल्लेख छ । ‘कुनै पनि सामग्री प्रवाह गर्दा गालीगलौज, चरित्रहत्या र मानहानि गर्न बन्देज गरिएको छ,’विज्ञप्तिमा भनिएको छ, ‘तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ ।’
सचिवालयले सञ्चारमाध्यमहरूमा आएका आरोपहरूको खण्डन गर्दै सत्यता प्रमाणित गर्न चुनौती दिएको छ । ‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रेस नोटमा उल्लेख छ ।
केही सञ्चारमाध्यमले प्रचण्डका लागि खटाइएका सुरक्षाकर्मीमध्ये ‘करिब ८ जना’ उनकी छोरी गंगा दाहालको घरमा घरेलु काममा संलग्न भएको खुलासा भएको समाचार प्रकाशित गरेका थिए । समाचारहरूमा स्रोतको हवाला दिएर सुरक्षाकर्मीहरूलाई भान्सादेखि ड्राइभरसम्मका व्यक्तिगत जिम्मेवारीमा प्रयोग गरिएको दाबी गरिएको थियो ।
माओवादी केन्द्रले डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरेको छ । भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक कुप्रचारको भ्रममा नपर्न हार्दिक अपिल गरेको छ ।