रंगेली मालपोतको निर्णय : ढड्डै च्यातेर हडपिएको १७ कट्ठा सरकारी जग्गाको नक्कली श्रेस्ता खारेज

विराटनगर । मालपोत कार्यालय रंगेलीले कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी अभिलेख (ढड्डा) च्यातेर व्यक्तिको नाममा दर्ता गरिएको १७ कट्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली श्रेस्ता खारेज गरि साविककै श्रेस्ता कायम गरेको छ ।

हाम्रोमत दैनिक लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि छानबिन गरेको कार्यालयले बिहीबार किर्ते (फर्जी) श्रेस्ता खारेज गरी साविककै श्रेस्ता कायम गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै मोरङको सुनवर्षी नगरपालिका–६ मा दशकौंदेखि बसोबास गर्दै आएका २० घरपरिवार सुकुम्बासीको उठीबास लाग्ने खतरा टरेको छ । कार्यालयको यो कदमले एकातिर पीडित स्थानीयलाई ठूलो राहत दिएको छ भने अर्कोतिर मालपोतभित्र हुने भ्रष्टाचार र अपराधको जालोलाई सतहमा ल्याएको छ ।

यसरी फिर्ता भयो जग्गा
मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलका अनुसार, सुन्दरहरैँचा नगरपालिका–१ का भीमप्रसाद सिंहले कर्मचारीसँगको मिलेमतोमा गरेको किर्ते कामलाई बदर गरिएको हो । छानबिनका क्रममा कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर साविक जग्गाधनी भागवत साह तेलीको नाममा रहेको खारेज भइसकेको श्रेस्ता च्यातेको र त्यसैको आधारमा सिंहको नाममा नयाँ धनीपुर्जा बनाएको पुष्टि भएको थियो ।
कार्यालयले बिहीबार जारी गरेको टिप्पणी तथा आदेशमा सम्पूर्ण अपराधको विवरण स्पष्ट पारिएको छ । आदेशमा भनिएको छ, ‘भागवत साह तेलीको खारेजी श्रेस्ता च्याति भीमप्रसाद सिंहको नाममा लुज श्रेस्ता तयार पारेको देखिन्छ । उक्त जग्गा साविक कि.नं. ९४ बदर हुँदै कि.नं. ११० भएको र नापी कार्यालयको नक्साअनुसार उक्त जग्गा बक्राहा नदीको बगर क्षेत्रमा पर्ने देखिन्छ, जहाँ हाल उजुरीकर्ताहरूको भोगचलन छ ।’

कर्मचारीले नै आफ्नो गल्ती स्वीकार गरेको तथ्यलाई समेत आदेशमा उल्लेख गरिएको छ । ‘उक्त किर्ते श्रेस्तामा लेखिएको अक्षर यसै कार्यालयमा कार्यरत कर्मचारीसँग मिल्ने र निजले आफ्नो गल्ती स्वीकार गरी लिखित स्पष्टीकरणसमेत पेश गरेका छन्,’ आदेशमा भनिएको छ ।

यिनै प्रमाणका आधारमा मालपोत ऐन, २०३४ को दफा २४ र २५ अनुसार सार्वजनिक प्रकृतिको र खोलाले चर्चेको जग्गा व्यक्तिले आवाद गर्न नपाउने कानूनी व्यवस्थालाई टेकेर सिंहको नाममा रहेको किर्ते श्रेस्ता बदर गरी जग्गा सरकारको नाममा फिर्ता गर्ने निर्णय गरिएको हो । यो निर्णयले गैरकानूनी रूपमा हडपिएको सरकारी सम्पत्ति पुनः राज्यको मातहतमा आएको छ ।

स्रोतका अनुसार, यो पूरै अपराधको मुख्य योजनाकार र सूत्रधार मालपोत कार्यालय रंगेलीका सुरक्षा गार्ड कामदेव मण्डल हुन् । २०७२ सालमा मालपोत स्थापना भएदेखि नै कार्यरत मण्डलले कार्यालयको हरेक प्रक्रिया र कमजोरीबारे गहिरो जानकारी राख्थे । सुरुमा कार्यालय सहयोगी र हाल सुरक्षा गार्डको भूमिकामा रहेका उनैले भूमाफिया भीमप्रसाद सिंहसँग सेटिङ मिलाउने, कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पार्ने र ढड्डाबाट सक्कली कागजात गायब पारेर नक्कली टाँस्नेजस्तो कामको नेतृत्व गरेको आरोप छ ।
यस प्रकरणमा कार्यालयका नायब सुब्बा (नासु) रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेको पनि प्रत्यक्ष संलग्नता देखिएको छ । उनीहरू तीनैजनालाई स्पष्टीकरण सोधिएको र थप विभागीय तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको मालपोत प्रमुख पौडेलले बताए ।

अशोज २३, २०८२, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर