बालेन र सुधनविरूद्धको जाहेरी लिएर अखिलको टोली प्रहरी परिसरमा

विराटनगर । सुदन गुरुङसहितको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएपछि अनेरास्ववियुका नेताहरू पनि जाहेरी बोकेर काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

एमाले निकट अखिलका नेताहरुले भदौ २४ गतेको आगजनी, लुटपाट र बिध्वंशमा संलग्न रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन प्रहरी पुगेका हुन् ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका छन् । उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधन प्रमुख योजनाकार भएको आरोप लगाएका छन् ।

आजै गुरुङलगायतले दिएको जाहेरी बुझेर प्रहरीले छानविन आयोगमा पठाएको थियो । लगत्तै अनेरास्ववियुले काउन्टर उजुरी दिएको हो । ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।

प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने/नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताए । उनले भने, ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ ।’

कार्की नेतृत्वको छानविन आयोगले भने फौजदारी अपराधमा संलग्नहरुलाई छानविन र कार्वाहीको लागि आयोगको निर्णय पर्खनु नपर्ने स्पष्ट पारिसकेको छ ।

अशोज २१, २०८२, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर