मोरङ उद्योग व्यापार संघद्धारा जिल्ला प्रशासन कार्यालयलाई गाडी हस्तान्तरण

विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई एक थान ल्यान्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो ।

बातवरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहेको थियो । उक्त गाडी मर्मत सम्भार गरेर प्रशानलाई हस्तान्तरण गरेको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रमुख जिल्ला अधिकारीको गाडीसहित कार्यालयमा आगजनी भएपछि प्रशासनलाई सवारी साधनको अभाव भएको थियो ।

संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको साँचो हस्तान्तरण गरे । आन्दोलनको क्रममा भएको आगजनीबाट जिल्ला प्रशासन कार्यालयको भवन पूर्णरुपमा ध्वस्त भएको थियो भने सवारी साधन पनि जलेर खरानी भएको थियो । यसले गर्दा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो दैनिक प्रशासनिक कार्य सञ्चालन तथा शान्ति सुरक्षाको अवस्था अनुगमनका लागि आवतजावतमा कठिनाइ हुँदै आएको थियो ।

गाडी हस्तान्तरणपछि बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रशासनको गाडी जलेर ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले संघले गाडी उपलब्ध गराएको बताए । उनले भने, ‘राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयलाई सवारी साधनविहीन हुँदा पर्ने असहजतालाई मध्यनजर गर्दै हामीले यो सानो सहयोग गरेका हौँ । यसले शान्ति सुरक्षा कायम गर्न र जनताको सेवामा खटिन प्रशासनलाई थप मद्दत पुग्ने हाम्रो विश्वास छ ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङ उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गरे । उनले यस सहयोगले जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक काम कारबाहीलाई प्रभावकारी बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । यादवले भने, ‘यो संकटको घडीमा उद्योगी व्यवसायीहरूले देखाएको सद्भाव र सहयोग अत्यन्तै सराहनीय छ । यसले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको छ ।’ प्राप्त गाडीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्न तथा नागरिकका गुनासो सम्बोधन गर्न अझै सक्रिय भएर लाग्न आफूलाई हौसला मिलेको उनले बताए । जिल्ला प्रशासन कार्यालय मोरङको तीन वटा सवारी साधान रहेको थियो । आन्दोलनको क्रममा सवारी साधान जलेर खरानी भएको उनले बताए ।

अशोज १२, २०८२, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर