विराटनगर । भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकाकरले बर्बर दमन गरेपछि भदौ २४ गते भएको विध्वंशबाट कार्यालय र निवास पनि जलेपछि करिब एक साता सम्पर्कहिन बनेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अझै कडा सुरक्षा घेरामा छन् ।कोशी प्रोजेक्टमा रहेको मुख्यमन्त्रीको अवासगृह आन्दोलनको क्रममा जलाईएपछि मुख्यमन्त्री कार्की नेपाली सेनाले सुरक्षा दिने विराटनगरस्थित नेपाल राष्ट्रबैंकको प्रादेशिक कार्यालयको भिआइपी कक्षमा बसिरहेका छन् ।
भदौ २४ गते भएको अराजक प्रदर्शनमा एक समूहले मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गरेको थियो । नेपाली सेनाको सुरक्षामा रहेको निवासमा करिब एक दर्जन व्यक्तिहरुले आगजनी गर्नुभन्दा केहि मिनेट अगाडि मात्र मुख्यमन्त्री कार्की झण्डावाल गाडी छाडेर बाहिरिएका थिए ।
प्रदर्शनकारीहरु निवासको गेटमा पुगेपछि कार्कीलाई उनका पिएसओले वैकल्पिक गेटबाट बाहिर निकालेर रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालय पु¥याएका थिए । सरकारी र झण्डावाल गाडीमा असुरक्षा हुनेभएपछि उनी टेम्पोमा चढेर प्रदेश प्रहरी कार्यालय पुगेका थिए ।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयबाट उनलाई नेपाली सेनाले सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा केही दिन राखेको थियो । त्यहाँबाट बाहिर आएपछि मुख्यमन्त्री नेपाली सेनाकै सुरक्षा रहेको राष्ट्रबैंकको गेष्ट हाउसमा बस्न थालेका हुन् ।
भदौ २४ गतेको विध्वंशमा मुख्यमन्ज्त्रीको निवास मात्र नभएर मुख्यमन्त्री कार्यालयसहित प्रदेशका धेरै मन्त्रालयमा क्षति भएको छ । अहिले सरकारी निवासमा सहित कार्यालयमा भएको क्षतिको मूल्यांकन भइरहेको छ । मुख्यमन्त्री कार्यालयका जिन्सी शाखाका कर्मचारी किरण ढकालका अनुसार निवास बस्नका लागि सुरक्षित छ वा छैन भन्नेबारे प्राविधिक परीक्षणको काम भइरहेको छ ।
‘निवासको परीक्षण गर्ने काम भइरहेको छ । तर, मुख्यमन्त्रीज्यूको सचिवालयबाट बस्नका लागि व्यवस्थापन गर्न कुनै निर्देशन आएको छैन’ उनले भने । मुख्यमन्त्री तत्काल सरकारी निवास फर्किने अवस्थामा नरहेको कर्मचारीहरु बताउछन् ।
एकातिर आफ्नो भौतिक सुरक्षालाई लिएर चिन्तित रहेपनि मुख्यमन्त्री कार्की राजनीतिक र प्रशासनिक मुद्दामा सामाजिक सञ्जालमार्फत सक्रिय देखिएका छन् । उनले बुधबार संघीय सरकारले जारी गरेको खर्च कटौतीसम्बन्धी निर्देशनप्रति कडा शब्दमा आपत्ति जनाएका थिए । उनले संघीय सरकारको अर्थ मन्त्रालयमार्फत आएको निर्देशनलाई प्रदेशको संवैधानिक अधिकारमाथिको हस्तक्षेपको संज्ञा दिँदै संघीय सरकारको ‘हुकुमी शासन’ नचल्ने चेतावनी दिएका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमा उनले लेखेका छन्, ‘विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको देशमा कसैको हुकुमी शासन चल्दैन ! देश, प्रदेश र स्थानीय तह सुशासनसहित र भ्रष्टाचाररहित ढंगले चल्नु÷चलाउनु पर्छ !’ उनले हरेक तहले आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री कार्कीको आशय स्पष्ट छ– संविधानले प्रदेशलाई आफ्नो बजेट बनाउने, कार्यान्वयन गर्ने र खर्च व्यवस्थापन गर्ने स्वायत्तता दिएको छ । तर, संघीय सरकारको निर्देशनले त्यो अधिकारमाथि अंकुश लगाएको छ ।
संघीय सरकारले भने आफ्नो निर्णयको बचाउ गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले संघीय मन्त्रिपरिषद्को निर्णय सबै तहका सरकारका लागि बाध्यकारी हुने बताएका छन् । उनले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर मितव्ययिताका लागि यो निर्णय गरिएको र प्रदेश कानुन जे भए पनि संघीय अनुदानबाट हुने खर्चमा यो निर्देशन लागू हुने स्पष्ट पारेका छन् ।
संघीय सरकारले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सल्लाहकार राख्न नपाउने, सचिवालयको लागि छुट्टै कोठा र सुविधा उपलब्ध गराउन नहुने सहितका निर्देशन जारी गरेपछि मुख्यमन्त्री कार्की आक्रोशित भएका हुन् । संघीय सरकारको निर्णय कार्यान्वय भएमा मुख्यमन्त्रीले सचिवालयमा ३ जना मात्र राख्न पाउनेछन् । उनीहरुलाई पनि तलब बाहेक गाडी वा अन्य सुविधा उपलब्ध हुनेछैन ।
अहिले मुख्यमन्त्रीले राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस सल्लाहकार, आर्थिक सल्लाहकारसहित करिब एक दर्जन व्यक्तिलाई सचिवालयमा राखेका छन् । सल्लाहकारहरुले गाडी सुविधासमेत उपभोग गर्र्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारप्रति कडा टिप्पणी गरेपछि एमालेकै कार्यकर्ताले पनि त्यसप्रति असन्तुष्टि जनाएका छन् । संवेदनशील समयमा मुख्यमन्त्रीले संयमता अपनाउनुपर्नेमा अनावश्यक विवाद सिर्जना गरेको उनीहरुको टिप्पणी छ । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीका पूर्वसचिव सन्तोष घिमिरेले सकेको काम गर्ने र संयमित हुने समयमा मुख्यमन्त्रीले पार्टीलाई अझै कमजोर बनाउने व्यवहार देखाएको बताए ।
आन्दोलनपछि यत्रो परिवर्तन हुँदा पनि मुख्यमन्त्री कार्कीले नचेतेको भन्दै एमालेभित्र उनको आलोचना भइरहेको छ । खरानी टक्टक्याएर जनताको सेवामा समर्पित हुने बेलामा फेरि जनतालाई भड्काउने अभिब्यक्ति दिने काम भएको उनीहरुले बताएका छन् ।
Fack news .com