विराटनगर । भदौ २३ र २४ गते जेन्जी युवा समूहले आयोजना गरेको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी मोरङ रतुवामाईकी लिजा अधिकारीलाई कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री गणेशप्रसाद उप्रेतीसहित नेकपा (माओवादी केन्द्र)का नेताहरूले आर्थिक सहयोग गरेका छन् । काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत अधिकारीलाई नेताहरूले अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गर्दै ४५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
पछाडिको भागमा गोली लागेर गम्भीर घाइते भएकी अधिकारीको हालसम्म दुई पटक शल्यक्रिया भइसकेको र अर्को एक मेजर शल्यक्रिया हुन बाँकी रहेको जनाइएको छ । उनको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सांसद उप्रेती, नेकपा (माओवादी केन्द्र) मोरङका इन्चार्ज कुलप्रसाद साम्बा (कुशल) र मोरङ–काठमाडौं सम्पर्क मञ्चको पहलमा उक्त रकम संकलन गरिएको हो ।
सांसद उप्रेतीले घाइते अधिकारी आफ्नो सहपाठीकी छोरी भएको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले भने, “यो हाम्रो मानवीय कर्तव्य हो । आफ्नै क्षेत्रकी चेली घाइते हुँदा हामी चुप लागेर बस्न सक्दैनौं ।” आर्थिक अवस्था कमजोर रहेकी लिजाको उपचारमा सहयोग गर्न पाउँदा सन्तोष मिलेको उनले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका नेताहरू निलम खड्का र लीला दाहालको पनि उपस्थिति रहेको थियो । घाइतेका परिवारले संकटको बेलामा सहयोग गरेकोमा सबैप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले टाढाबाट आएर पनि स्वास्थ्य लाभको कामना गरी सहानुभूति दिएकोमा राहत मिलेको बताए । घाइते लिजा काठमाडौंमा बसेर स्नातक तहमा अध्ययनरत थिइन् ।
याे सामसहिक सहयाेग हाे अहिलेकाे परिस्थिति मा नेता काेण नगराै तपाईं मिडिया ले पनि सबै सुचना तयार गर्नुस सहयाेगि हातहरू लाई पनि समाबेश गर्नुस अनि समाचार बनाउनुस तपाई जसणता अनलाइन मिडिया हामी सग पनि छन तर प्रचार बाजि गर्दैनौं सहयाेग गर्ने सबैकाे नामावलि हाल्नुस पत्रकारपता काे सुत्र 5w 1h पूरा गरि समाचार बनाउनुस