विराटनगर । विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजुमाथि एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
सोमबार दिउँसो २५ वर्षीय श्रवण साह (छोटु) ले २२ वर्षीया भाउजु रागिनी देवी साहमाथि एसिड प्रहार गरेका हुन् ।
घाइते रागिनीको हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।
पीडितका श्रीमान् सन्तोष साहका अनुसार, उनका भाइ श्रवणले भाउजुसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
सन्तोष आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरिन् । सन्तोष हतारहतार घर पुग्दा भाइ श्रवण पनि त्यहीँ थिए । ूमैले किन भाउजुमाथि हातपात गरेको भनेर सोध्दा भाइ जाइलाग्न खोज्यो,’ सन्तोषले भने, ‘मैले सम्झाइबुझाइ गरेर उसलाई घरबाट बाहिर पठाएको थिएँ ।’
तर, केही बेरमै श्रवण एसिड लिएर घर फर्किए र सोझै भाउजु रागिनीको अनुहारमा प्रहार गरे । एसिड प्रहारपछि उनी तत्कालै फरार भए । सन्तोषले श्रीमतीलाई सम्हाल्दै घरमा भएको पानीले अनुहार पखाल्ने प्रयास गरे र तत्कालै नजिकैको न्यूरो अस्पताल पु¥याए । ‘यस विषयमा हामीले प्रहरीमा पनि खबर गरिसकेका छौं,’ अस्पतालमा श्रीमतीको कुरुवा बसिरहेका सन्तोषले भावुक हुँदै भने ।
यो घटनाले साह परिवारलाई स्तब्ध बनाएको छ । परिवारमा आमा, दुई भाइ, श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए । सामान्य घरयासी विवादले यति क्रूर र अमानवीय रूप लेला भन्ने कसैले सोचेका थिएनन् ।
मोरङ प्रहरीकी प्रवक्ता, डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको र खोजी कार्य तिव्र बनाएको उनले बताइन् ।