आजबाट दसैं सुरु

विराटनगर । हिन्दुधर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड बडादसैँ आज सोमबारदेखि सुरु हुँदैछ । दसैंको पहिलो दिन अर्थात् घटस्थापनामा जमरा राख्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्ष जमरा राख्ने उत्तम साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ ।

जमराको धार्मिक र सांस्कृतिक महत्व

घटस्थापनाको दिन कलश स्थापना गरी देवी–देवताको आह्वान गर्दै वैदिक विधिपूर्वक जमरा राख्ने प्रचलन छ । जौ, गहुँ, मकै, धान आदिको अङ्कुरलाई जमरा भनिन्छ, जसलाई दुर्गा भवानीको प्रिय वस्तु मानिन्छ । जमरालाई सुख, शान्ति, समृद्धि र विजयको प्रतीकका रूपमा लिइन्छ । मान्यजनको हातबाट विजयादशमीको दिन टीकासँगै जमरा ग्रहण गर्दा दुर्गा भवानीको आशीर्वाद प्राप्त हुने विश्वास छ ।

कसरी र कहाँ राख्ने जमरा ?

जमरा राख्नका लागि घरको पूजाकोठा वा अन्य कुनै शुद्ध र अँध्यारो स्थान छनोट गरिन्छ । तामाको वा माटोको भाँडोमा चोखो बालुवा वा माटो राखेर जौ, गहुँ जस्ता अन्नका दाना छरिन्छ । बीउलाई एक रात पानीमा भिजाएर राख्दा राम्रोसँग अङ्कुराउँछ । जमरालाई पहेँलो बनाउन प्रत्यक्ष घामको प्रकाशबाट जोगाउनुपर्छ र हरेक दिन पूजा गर्दै चोखो पानी छर्केर सिञ्चित गर्नुपर्छ । यसरी नौ दिनसम्म पूजा गरेर हुर्काइएको जमरा विजयादशमीको दिन टीकासँगै लगाइन्छ ।

अशोज ६, २०८२, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर