विराटनगर । अराजक समूहले भदौ २४ गते आगजनी र तोडफोड गर्दा जिल्ला अदालत मोरङ तथा उच्च अदालत विराटनगरमा ठूलो क्षति भएको छ ।आगजनीपछि मोरङ जिल्ला अदालतमा रहेका हजारौं अभिलेख ध्वस्त भएका छन् भने संरचनामा व्यापक क्षति पुगेको छ । २०२१ सालमा स्थापना भएको जिल्ला अदालतको अभिलेख शाखामा करिब १ लाख ५० हजार मिसिल थिए ।
तीमध्ये करिब १ लाख ४५ हजार मिसिल जलेर नष्ट भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । राजस्व तथा सवारीसाधन सम्बन्धी थुप्रै फाइल, पुराना फैसला र प्रमाणपत्रहरू ध्वस्त भएका छन् ।
अभिलेख शाखामा रहेकामध्ये करिब ४ हजारदेखि ४ हजार ५ सय मिसिल मात्र जोगिएको जानकारी बुढाथोकीले दिए । उनका अनुसार आगजनीपछि अदालतको दैनिक कामकारबाहीमा ठूलो असर पुगेको छ ।
आगोले जिल्ला अदालत परिसरमा रहेका ६२ वटा निजी मोटरसाइकल र स्कुटर, ५९ वटा मुद्दाको दसीको रूपमा राखिएका मोटरसाइकल, न्यायाधीशका ७ वटा गाडी तथा अदालतका ३ वटा चार पांग्रे गाडीहरु जलेका छन् । आगजनीले जिल्ला अदालतको ६ दशकभन्दा पुरानो न्यायिक इतिहास खरानी बनाएको छ ।
जोगिएका मिसिलमध्ये करिब २ हजार ५ सय मुद्दा विचाराधीन अवस्थाका थिए । सूचना अधिकारी बुढाथोकीका अनुसार जिल्लामा हाल करिब ३ सयदेखि ६ सय मुद्दा मात्रै विचाराधीन थिए ।उच्च अदालत विराटनगरमा पनि इजलास र विशेष अभियान फाँटमा रहेका करिब १ हजार मिसिल मात्रै जोगिएका छन् । अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार अभियान फाँटमा रहेका ५४७ वटा मिसिल मात्रै बचेका छन् ।
भट्टका अनुसार अदालतको अभिलेख शाखामा करिब ६५ हजार मिसिल थिए । उच्च अदालत विराटनगरमा २०८३ असारसम्म २ वर्ष नाघेका मुद्दालाई प्राथमिकताका साथ अभियान फाँटमा राखिएको थियो । त्यहाँ रहेका सबै मिसिल सुरक्षित रहेका छन् । उच्च अदालतमा ११ वटा सरकारी गाडी, २ वटा निजी गाडी र विभिन्न मोटरसाइकलहरु जलेको छ । दुवै अदालतमा आगजनी हुँदा विशेष गरेर मुद्दाका प्रमाणहरु, प्रतिवादी र पीडितको बयान, न्यायिक आदेशका प्रतिलिपि आगोले ध्वस्त बनाएको छ । जसका कारण न्याय प्रणाली एवं न्यायिक पहुँचमा गम्भीर असर परेको छ ।