विराटनगर । पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका १ को खुनिया पुल नजिकै बिहीबार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिँदै प्रहरीले उनीहरुको पहिचान खुल्न बाँकी रहेको बताएको छ । मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रुबसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा सप्तरी रुपनी–९ का २५ वर्षीय प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० वर्षीया पुनम सरदार, सप्तरीको खड्क नगरपालिका(५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, सिरहाको धनगढी माई नगरपालिका ३ बस्ने ५२ वर्षीया बानेश्वरी देवी चौधरी सोही ठाउँका ३५ वर्षीया केसीदेवी चौधरी घाइते भएका छन् ।
यसै गरी सिरहा धनगढी माई नगरपालिका १ बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष ३६ की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।