विराटनगर ।भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जेनजेड युवाहरुले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा भएको आगजनीका कारण मोरङका सरकारी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको पाइएको छ । आगजनीबाट मोरङमा १२४ वटा चारचक्के सवारी साधन जलेर पूर्णरुपमा नष्ट भएको छ भने २३८ वटा मोटरसाइकल जलेका छन् ।
सबैभन्दाा ठूलो क्षति कोशी प्रदेशको राजधानी विराटनगरमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु अन्तरगत भएको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र मातहतका कार्यालयहरुका ६५ वटा चारचक्के सवारी साधन आगजनीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ भने १४४ वटा मोटरसाइकल जलेको तथ्यांक सार्वजनिक भएको छ ।
आगजनीबाट उच्च अदालत विराटनगर, जिल्ला अदालत विराटनगर, उच्च अदालत सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालयमा पनि आगजनीका कारण सवारी साधनमा ठूलो क्षति भएको पाइएको छ । उच्च अदालत विराटनगरमा न्यायाधीशहरुले प्रयोग गर्नेसहित १३ वटा कार जलेर ध्वस्त बने भने मोरङ जिल्ला अदालतमा ११ वटा कार र ६० वटा मोटरसाइकल जलेका छन् । जलेका मोटरसाइकलमध्ये ५९ वटा दसी (प्रमाण)को रुपमा अदालतमा राखिएका थिए ।
विराटनगर महानगरपालिकाको दुई वटा जेसिबी, एउटा लोडर, दुई वटा टिपर, पानी ट्यांकी, ट्याक्टरसमेत गरी ९ वटा चारचक्के सवारी साधन जलेका छन् भने एउटा मोटरसाइकल र दुई वटा सिटी सफारी जलेर नष्ट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा तीन वटा गाडी र ५ वटा मोटरसाइकल जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको ७ वटा गाडी र ११ वटा मोटरसाइकलमा क्षति पुगेको छ । उर्लाबारी नगरपालिकाको ४ वटा चारचक्के गाडी र ५ वटा मोटरसाइकल, कानेपोखरी गाउँपालिकाको ३ वटा गाडी, नापी कार्यालय विराटनगरको एउटा गाडी, पथरी नगरपालिकाको २ वटा गाडी र ४ वटा मोटरसाइकल जलेर नष्ट भएको सम्बन्धित कार्यालयहरुले जानकारी दिएका छन् । त्यस्तै रंगेली नगरपालिकाको एउटा स्कर्पियो गाडी र एउटा मोटरसाइकल, सुनवर्षी नगरपालिकाको दुई वटा गाडी र एउटा मोटरसाइकल जलेर नष्ट भएको छ ।
प्रदेशका मन्त्रालयहरु अन्तरगत सबैभन्दा ठूलो क्षति पर्यटन, वन तथा वाातावरण मन्त्रालयलाई भएको छ । उक्त मन्त्रालयका १० वटा चारपाङ्ग्रे गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ भने १९ वटा मोटरसाइकल जलेर नष्ट भएको छ । यस्तै कोशी प्रदेशसभाका ८ वटा चारचक्के गाडी र १३ वटा मोटरसाइकल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ९ वटा चारपाङ्ग्रे गाडी र १० वटा मोटरसाइकल, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका ११ वटा चारपाङ्ग्रे गाडी र २७ वटा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।