विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा जिल्लाभित्र भएका विभिन्न संरचनाहरुको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

आन्दोलनको क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीबाट जिल्लाका एक सयभन्दा बढी सरकारी कार्यालयमा क्षति पुगेको छ ।

तथ्याङ्क अनुसार मोरङमा रहेका कुल ६३ संघीय कार्यालयमध्ये २१ वटामा क्षति पुगेको छ । त्यसैगरी ३९ वटा प्रदेश कार्यालयहरुमध्ये १४ वटामा क्षति भएको छ भने जिल्लाका १७ वटा स्थानीय तह (पालिका भवन)मध्ये १० वटामा क्षति भएको छ । जिल्लाका १५९ वटा वडा कार्यालयहरुमध्ये ५८ वटामा क्षति पुगेको विवरणमा उल्लेख छ ।

सरकारी कार्यालयबाहेक अन्य निजी तथा संस्थागत संरचनाहरुमा पनि क्षति पुगेको छ । तथ्याङ्क अनुसार १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन, ४ वटा अन्य संघसंस्था र ८ वटा राजनीतिक पार्टीका कार्यालयहरुमा क्षति पुगेको छ । संस्थानतर्फ सञ्चयकोषको भवनमा क्षति भएको जनाइएको छ ।

यसैगरी, आगजनी र तोडफोडबाट सुरक्षा निकायका संरचनाहरु पनि प्रभावित भएका छन् । जनपद प्रहरीका १७ वटा पोस्ट तथा कार्यालय र सशस्त्र प्रहरीका ४ वटा पोस्टमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो क्षतिको प्रारम्भिक विवरण मात्र भएको र क्षतिको पूर्ण मूल्याङ्कन हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।