विराटनगर । विराटनगरमा हालै भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा परेका विभिन्न सरकारी कार्यालयहरुले लुटिएका सामान सुरक्षित रुपमा फिर्ता गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेका छन् ।
जिनजिको नाममा भएको आन्दोलनको क्रममा प्रदर्शनकारीले विभिन्न प्रशासनिक भवनहरुमा क्षति पुर्याउनुका साथै कार्यालयका महत्वपूर्ण सामग्रीहरु लगेपछि सरकारी निकायहरुले यस्तो आग्रह गरेका हुन् ।
विराटनगर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको तोडफोड र आगजनीका क्रममा कार्यालय तथा मातहतका वडा कार्यालयहरुबाट लुटिएका सामग्री तथा महत्वपूर्ण कागजातहरु फिर्ता गर्न अनुरोध गरेको छ । महानगरपालिकाले कसैले ती सामग्रीहरु फेला पारेमा नजिकको वडा कार्यालय वा सुरक्षा निकायमा बुझाइदिन भनेको छ । सूचनामा जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने र सामान फिर्ता गर्नेलाई कुनै कारबाही नगरिने तर प्रमाणको आधारमा चोरीमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख छ । कार्यालयको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीले खिचेका तस्बिर तथा भिडियो र सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीका आधारमा चोरी गर्नेहरुको पहिचान गरी कारबाही अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ ।
यस्तै, आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति व्यहोरेको कोशी प्रदेश सभा सचिवालयले पनि लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै सचिवालयले तोडफोड र आगजनीका क्रममा सचिवालयमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, क्यामेरा, एसी, टिभी, फर्निचर लगायतका सामग्रीहरु चोरी भएको जनाएको छ ।
निमित्त सचिव गौतमराज अमात्यद्वारा जारी सूचनामा भनिएको छ, ‘उल्लेखित सामान कसैले देख्नु भएमा, भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा प्रदेश सभा सचिवालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।’
सचिवालयले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
विराटनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरुले पनि तोडफोड र आगजनीपछि लुटिएका सरकारी सम्पत्ति फिर्ताका लागि अनुरोध गरेका छन् । यी कार्यालयहरुबाट पनि महत्वपूर्ण उपकरण र कागजातहरु चोरी भएको बताइएको छ ।
सरकारी कार्यालयहरुको आग्रहसँगै विराटनगरमा नागरिक स्तरबाट पनि लुटिएका सामान फिर्ता गराउन अभियान सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीसहितका युवाहरुले घर–घरमा पुगेर लुटपाटमा संलग्नलाई सम्झाई–बुझाई गरी सामान फिर्ता गर्न आग्रह गरिरहेका छन् । शनिबारदेखि सुरु भएको यो अभियानपछि केही व्यक्तिहरुले चोरीका सामानहरु फिर्ता गर्न थालेका छन् । यो अभियानले निजी क्षेत्र, जस्तै भाटभटेनी सुपर मार्केटबाट लुटिएका सामान फिर्ता गराउन पनि सहयोग पुर्याइरहेको छ । सरकारी निकाय र नागरिक समाजको संयुक्त प्रयासले सहरको अवस्थालाई सामान्यीकरण गर्न र लुटिएका सार्वजनिक सम्पत्तिको पुन : प्राप्तिमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
