लोड हुँदैछ...

मेनु

जेन–जीको रगतले रंगिएको सरकार

जेन–जीको रगतले रंगिएको सरकार

सरकारले सामाजिक सञ्जाल बन्देज गर्ने निर्णयपछि सुरु भएको जेन–जीको आन्दोलन सोमबार रक्तपातमा बदलियो । शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनलाई सरकारले दमनको बाटो रोजेर सडकलाई सामूहिक चिहान बनायो । सोमबार साँझसम्म देशभर २० जनाभन्दा बढी युवाको ज्यान गइसकेको छ, सयौं घाइतेहरु अस्पतालमा छन् । राजधानीमै मात्र होइन, विराटनगर, इटहरी, दमकजस्ता सहरमा पनि गोली र अश्रुग्यासको सरकारी आतङ्क फैलियो । अस्पतालभित्रै घाइतेमाथि कुटपिट र अश्रुग्यास प्रहार भएको विवरण सार्वजनिक हुँदा नेपालको लोकतान्त्रिक छवि धज्जी उडेको छ ।

यो दृश्यले २०६२÷६३ को जनआन्दोलनलाई मात्र होइन, १९ दिने जनआन्दोलनलाई समेत बिर्साइदिएको छ । ज्ञानेन्द्र शाहको निरंकुश शासनविरुद्धको आन्दोलनमा जम्मा १८ जनाको ज्यान गएको थियो । तर आज, केपी ओली नेतृत्वको सरकारले एकै दिनमा त्यसभन्दा धेरै युवाको जीवन खोस्ने दुस्साहस गरेको छ । यो केवल दमन मात्र होइन, यो राज्यद्वारा गराइएको नरसंहार हो । जेन–जी आन्दोलन कुनै दलको निर्देशनमा चलेको थिएन, न त कुनै राजनीतिक वादको फल थियो । यो पुस्ता सामाजिक सञ्जालमा हुर्किएको हो । भ्रष्टाचार, कुशासन र अकुत सम्पत्तिको प्रदर्शनले थकित भएका युवाहरूले आफ्ना भावनाहरू सडकमा पोखेका हुन् । “राजनीति गन्दगी हो” भन्दै पिँढीपिँढी आलोचना गर्दै आएको पुस्ताले आज प्रत्यक्ष राजनीति चासो लिएको छ । उनीहरूले गणतान्त्रिक व्यवस्थाको संवद्र्धन र स्वतन्त्र पारदर्शी संस्थाहरूको निर्माण मात्र माग गरेका हुन् । तर, त्यसको जवाफ सरकारले बन्दुकबाट दिएको छ ।

गृहमन्त्रीको असफलता स्पष्ट छ—न त उनीहरूले शान्तिपूर्ण ढंगले भीडलाई नियन्त्रित गर्न सके, न त उचित सुरक्षा रणनीति अख्तियार गरे । गोली वर्षाएर नागरिकको प्राण लिने सुरक्षा संयन्त्रको नेतृत्वमा बसिरहन गृहमन्त्रीलाई कुनै नैतिक अधिकार छैन । उनी तुरुन्त राजीनामा दिनुपर्छ । प्रधानमन्त्रीले पनि केवल दोष अन्यत्र थोपरेर पन्छिन सक्दैनन् । देशको वर्तमान दुर्दशाको प्रत्यक्ष जिम्मेवारी प्रधानमन्त्रीकै हो । उनले जनतासामु निष्कपटतापूर्वक माफी माग्नुपर्छ, आन्दोलनकारीको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुपर्छ । पदबाट विदा हुनुपर्छ  । नेपालको लोकतान्त्रिक इतिहासमा शान्तिपूर्ण विद्रोहलाई शक्तिले कुच्दा कहिल्यै टिकेको छैन । ज्ञानेन्द्र शाहले पनि गोली, बन्दुक, दमनको भरमा शासन लम्ब्याउन खोज्दा अन्ततः जनताकै दबाबमा घुँडा टेकेका थिए । अहिलेको सरकार पनि त्यो इतिहास नबिर्सियोस् ।

जेन–जीले दिएको सन्देश स्पष्ट छ—अब भ्रष्टाचार, बेथिति र दमन सहिँदैन । यो आन्दोलन केवल सुरुवात हो । यदि सरकारले अझै समयमै आत्मालोचना गरेन भने, आजका सडकमा पोखिएको रगतले भोलि सत्ताको आधार नै बगाएर लैजानेछ । लोकतन्त्रलाई माटोमा मिलाउने यो क्रुरताको जिम्मेवारी सरकारलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन । सत्ताधारीले यसलाई ख्याल गरुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।