विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा उल्लेख छ।
यसअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरसहितका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्यूको निर्णय गरेको हो।
कर्फ्यू लाग्ने स्थानहरू :
पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्म।
उत्तरमा विराटनगर जेसिज हलदेखि दक्षिणमा गौरव अस्पतालसम्म।
कोशी राजमार्गको उत्तर र दक्षिणतर्फका भागहरू।
विराटनगर महानगरपालिकाको शान्तिनगर, बिर्टोल चोक, बिर्टोल मन्दिर, शान्तिनगर चोक आसपासका क्षेत्रहरू।
प्रदेश प्रमुख कार्यालय, प्रदेश सभा भवन वरिपरिका क्षेत्रहरू।
प्रदेश प्रमुख निवासको २०० मिटर क्षेत्रभित्र।
इन्टिग्रेटेड चेकपोष्ट ९आइसीपी० को २०० मिटर वरिपरि।
जिल्ला प्रशासन कार्यालयले आम नागरिकलाई कर्फ्यू अवधिभित्र अनावश्यक हिँडडुल नगर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेको छ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।