गुरुकुलमा ‘एक चिहान’ नाटकको आकर्षण

विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर (आरोहण गुरुकुल)मा २०१७ सालमा हृदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास ‘एक चिहान’को नाट्य रुपान्तरण प्रस्तुत भइरहेको छ ।

कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममै समावेश यस उपन्यासलाई जीवित अभिनयमार्फत अनुभव गर्ने अवसर पाउँदा विद्यार्थीहरु नाटकप्रति आकर्षित छन् ।नाटकले विद्यार्थीदेखि शिक्षकसम्मलाई भावुक बनाउँछ । बेला बेलामा माहोल रोमाञ्चक पनि हुन्छ । कथाको केन्द्रमा छन्, ज्यापू समुदायका साधारण कृषक अष्टनारान । उनी मेहनती किसान त हुन् । तर, गरिबीको घेराबाट कहिल्यै मुक्त हुन सक्दैनन् ।

खेतबारीमा पसिना बगाउने, आधा पेट खाएर अरुलाई भरपेट खुवाउने उनको शरीर अचानक रोगले धरापमा पार्छ । शरीरले साथ नदिएपछि श्रीमती लतमाया, ३ छोरा, छोरी र बुहारीले घरको दलानमा बसेर उनको जीवनप्रति चिन्ता र आश्वासन व्यक्त गर्ने दृश्यले नाटक सुरु हुन्छ ।अष्टनारायणको मृत्युले मात्र होइन, त्यसपछि परिवारमा पैदा भएको असुरक्षा, आर्थिक अभाव, जिम्मेवारीको भार र समाजका विभिन्न विकृतिहरूले पनि नाटकको कथालाई क्रमशः शोकान्ततर्फ धकेल्दै लैजान्छ । अष्टनारायणकी छोरी नानीथंकुमाथि पाको उमेरका सूरमान सुब्बाको लोभी नजर, नानीथंकु र डाक्टरबीचको असफल प्रेम, डाक्टरकी पत्नी रञ्जना देवीसँग नानीथंकुको संवादले कथालाई थप गहिराइ दिन्छ ।

खेतमै परिवारका सबै सदस्यको साझा वियोगान्तसँग नाटकको अन्त्य हुन्छ । जसले शीर्षक ‘एक चिहान’को अर्थलाई यथार्थमा उजागर गर्छ । ‘एक चिहान’ले सबैको मन छोएको छ । बेला बेलामा माहोललाई शोकमा परिणत गरिदिने यो नाटकले दर्शकदीर्घालाई रुन बाध्य पारिदिन्छ ।

कलाकारको उत्कृष्ट अभिनयले बेला बेला हाँस्न बाध्यसमेत बनाउँछ । नाटकलाई विराटनगरमा जीवित बनाउन संयोजकको भूमिका निभाएका छन्, देवेन्द्र यादवले । सास्थम कलेजबाट हस्पिटालिटी विषय अध्ययन गरेका यादव ८ वर्षअघि नाटकतर्फ आकर्षित भएका थिए ।

नाटकको परिकल्पनाकार एवं निर्देशक दिपेश भण्डारी हुन् । १ घण्टा ४५ मिनेटमा सकिने यो नाटक १३ जना कलाकारले प्रस्तुत गरेका छन् । दिव्यांका खड्का, उपसना राई, महेश पासवान, संगीता यादव, उद्धव सापकोटा, दीक्षा चौधरी, गौरव खतिवडा, शिवराज भुजेल, भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, सागर घिमिरे र निशान चौहानको अभिनय नाटकमा हेर्न सकिन्छ ।

भदौ २२, २०८२, साँझको ०५:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर