कुटाइ खान सकिन्थ्यो, त्यसैले गाडी नरोकी भागेँ : मन्त्री मगर

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बालिकालाई ठक्कर दिएपछि ‘कुटाइ खाने डरले’ गाडी नरोकी भागेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । शनिबार बिहान ललितपुरको हरिसिद्धिमा आफू सवार सरकारी गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएर भागेको घटनाको बचाउ गर्दै उनले यस्तो तर्क गरेका हुन् ।
मन्त्री मगर नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाने क्रममा शनिबार बिहान सवा ७ बजे उनी चढेको को १ झ ६९९ नम्बरको गाडीले हरिसिद्धि माध्यमिक विद्यालय अगाडि जेब्रा क्रसिङबाट बाटो काट्न लागेकी बालिका उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो । सीसीटीभी फुटेजमा देखिएअनुसार ठक्करपछि बालिका सडकमा पछारिँदा पनि मन्त्री सवार गाडी एकछिन नरोकिई हुइँकिएको थियो । गाडीको पछाडि मोटरसाइकलमा आइरहेका एक व्यक्तिले बालिकालाई उठाएर अस्पताल पठाएका थिए ।

दुर्घटनामा परेकी बालिकालाई तत्काल उद्धार गर्नुको साटो भाग्नुको कारणबारे सोधिएको प्रश्नमा मन्त्री मगरले भने, ‘नचिनेको ठाउँमा गाडी रोक्दा आक्रोशित स्थानीयले मलाई हातपात गर्ने र गाडीमा समेत तोडफोड गर्ने भएकाले नरोकेको हो । नचिनेको ठाउँमा रोकेको भए कुटाइ खान सकिन्थ्यो ।’

यो घटनाले राजनीतिक र नैतिक संकट उत्पन्न गरेको छ । एकातिर मन्त्रीको अमानवीय र गैरजिम्मेवारपूर्ण व्यवहार छ भने अर्कोतिर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनालाई सामान्यीकरण गर्दै यसलाई ‘महाधिवेशन भाँड्ने षड्यन्त्र’को संज्ञा दिएका छन् ।

प्रहरीले मन्त्री मगर सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको थियो । मन्त्री मगरले पछि अस्पताल पुगेर बालिकाको अवस्थाबारे जानकारी लिएको बताएका छन् । उनले बालिकाको उपचारका लागि १८ हजार रुपैयाँ र अन्य केही सहयोग गरेको दाबी गरे । ‘अहिले मैले व्यक्तिगत रूपमा सबै सहयोग गरेको छु, अध्यक्ष केपी शर्मा ओलीले उपचार खर्च व्यहोर्न भन्नुभएको छ, अब थप सल्लाह हुन्छ,’उनले भने ।

घाइते बालिका उषाको बी एन्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ ।

भदौ २२, २०८२, दिउँसोको १२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर