विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालन हुने योजना तथा कार्यक्रमहरु अहिलेसम्म सार्वजनिक गरेको छैन । आर्थिक वर्ष सुरु भएको दुई महिना बित्न लाग्दासमेत महानगरपालिकाले वडा तथा महानगरस्तरीय विकास योजना र महाशाखाहरुले सञ्चालन गर्ने कार्यक्रमहरु तयार गरिसकेको छैन ।
महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट असार १० गते सम्पन्न महानगर सभाबाट पारित गरिसकेको जनाएको छ । तर बजेट पारित भएको २ महिना १५ दिन बितिसक्दासमेत बजेट पुस्तिका प्रकाशन गरेको छैन ।
बजेटको अन्तिम स्वरुप तयार नभएका कारण चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु अगाडि बढ्न सकेको छैन । नगरसभाबाट एकमुष्ठ रकम विनियोजन गरी बजेट पारित गरिएका कारण कुन कुन योजना समावेश भएका छन् भन्ने बारेमा नगरसभाका सदस्यहरुलाई जानकारी समेत छैन । उनीहरुले पनि बजेट पुस्तिका वा त्यसको पिडिएफ प्रति अनलाइनमा सार्वजनिक गरेपछि मात्र थाहा पाउनुपर्ने बाध्यता छ ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट नगरसभाबाट पारित गरेको थियो । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । जसमा पूर्वाधार विकासतर्फ महानगरले एकमुष्ठ रुपमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको थियो । बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको थियो भने ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड बिनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षको बाँकी भुक्तानीका लागि ८ करोड, भौतिक पुर्वाधारको समपुरक योजनाका लागि ६ करोड २० लाख र वहुवर्षीय तथा दायित्व सरेर आएका आयोजनाको भुक्तानीका लागि ७० सत्तरी करोड खर्च हुने अनुमान गरिएको थियो । वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख बजेट विनियोजन भएको भनिएको थियो ।
सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख बजेट विनियोजन भएको थियो ।
वडाहरुलाई एकमुष्ठ रुपमा विकास बजेट विनियोजन गरिएको भएपनि योजनाहरु समयम छनोट नगर्दा कुन कुन योजना कार्यान्वयनका लागि बजेट पुस्तिकामा समेटिएको छ भन्ने कुरा लामो समयसम्म अन्यौल अवस्थामै रहेको छ ।विराटनगर महानगरपालिकाले विगतमा नगरसभाबाट बजेट स्वीकृत गर्दाकै बखतमा योजनाहरुको सूचि पारित गर्ने गरेकोमा पछिल्लो समय एकमुष्ठ बजेट राखेर ढिलो गरी बजेट पुस्तिका प्रकाशन गर्ने गरेको छ । यसले बजेट कार्यान्वयनमा ढिलाइ हुने र आर्थिक वर्षको अन्तिममा योजना कार्यान्वयन भई बजेट खर्च हुने समस्या बढाएको छ । सुशासन र पारदर्शिताका दृष्टिले यसलाई गलत अभ्यासको रुपमा लिइने गरिन्छ ।
वडाहरुले समयमा योजना नछान्ने प्रवृत्तिका कारण बजेट पुस्तिका निर्माणमा ढिलाइ हुने गरेको महानगरपालिकाले जनाएको छ । अझ अधिकांश वडाहरुले वडामा सञ्चालन गर्ने विकास योजना तर्जुमा गर्दा समुदायलाई बेवास्ता गर्ने, योजना निर्माण गर्दा वडाध्यक्षहरुले मनोमानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । विकास योजनामा सबै नागरिकहरुको सहभागितालाई सुनिश्चित गर्न टोलस्तरबाटै योजना छनोट गर्ने प्रचलनलाई विराटनगर महानगरले पूर्णरुपमा अवज्ञा गर्दै आएको पाइएको छ । त्यसमा पनि ढिला गरी बजेट पुस्तिका तयार पार्ने प्रवृत्तिले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा महानगरपालिकाले विकास बजेट खर्च गर्नै नसक्ने अवस्था देखिएको छ ।
महानगरपालिकाले बजेट पुस्तिका प्रकाशन हुन अझै केही दिन लाग्ने जनाएको छ । अहिले योजनाहरु समावेश गर्ने काम करिब अन्तिम चरणमा पुगेको र त्यसलाई अन्तिम रुप दिएर केही दिनभित्रै बजेट पुस्तिका छपाइ गर्न पठाउने तयारी भइरहेको महानगरले जनाएको छ । योजना तथा कार्यक्रमहरु छिट्टै अनलाइनमा प्रकाशन गर्ने तयारी भइरहेको महानगरका सूचना अधिकृत अनिता न्यौपानेले जानकारी दिइन् ।
महानगरले केही दिन पछि अनलाइनमा योजना तथा कार्यक्रमसहितको बजेट पुस्तिका प्रकासन गरेपनि पुस्तिका प्रकाशन नभएसम्म त्यसलाई कार्यान्वयन नगर्ने महानगरको अभ्यास रहेको छ । अनलाइनमा भएका योजनाहरु पुस्तिकामा प्रकाशन हुनेमा कर्मचारीहरु विश्वस्त देखिदैनन् । जसले गर्दा उनीहरु पुस्तिका प्रशासन नभएसम्म योजना कार्यान्वयन गर्न तयार हुँदैनन् ।
महानगरको बजेट पुस्तिका प्रकाशन हुँदा नेपालीहरुको मुख्य चाड दसैं सुरु भइसक्छ । बजेट कार्यान्वयन गर्न त्यस अनुसार कार्यविधि, मापदण्ड र निर्देशिका बनाउनु पर्ने भएकोले दसैं अगाडि महानगरको बजेट कार्यान्वयनमा जाने सम्भावना करिव सकिएको छ । त्यसकारण विकास निर्माणका योजना कार्यान्यनका लागि चालु वर्षको पहिलो त्रैमासिक महानगरको खेर जाने निश्चित जस्तै छ ।