मन्त्री मगरको गाडीले बालिकालाई ठक्कर दिएर भाग्यो, महाअधिवेशन भाँड्ने षड्यन्त्र भएको ओलीको दावी

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले शनिबार विहान ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भागेको छ ।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी मावि अगाडिको सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो ।

बालिका जेब्रा क्रसिङबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी भएपनि मन्त्रीको गाडी वास्ता नगरी अगाडि बढेको थियो ।

‍गाडीको पछाडि आइरहेका मोटरसाइकलमा आएका व्यक्तिहरुले बालिकालाई सडकबाट उठाएर अस्पताल पठाएका थिए । घाइते ११ वर्षीया बालिका उषा मगर सुनुवारको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मगर ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदैथिए । सो घटनाको कारण स्थानीयले केहिबेर बाटो अबरुद्ध गरेपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने आक्रोशित भएका थिए । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको सामान्य घटनालाई राजनीतिकरण गर्न खोजिएको उनले बताए ।

एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालिकालाई गाडीले सामान्य ठक्कर भएपनि महाधिवेशन भाँड्ने षड्यन्त्र भएको दावी गरे । ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो क्षति पनि भएको छैन। बालिकाको उपचार गर्छौ ।’ उनले भने ।

दुर्घटना भवितव्य भएपनि त्यसकै कारण महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको ओलीको आरोप छ । बालिकालाई ठक्कर दिएर वास्ता नगरी मन्त्रीको गाडी हुँईकिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको बेला ओलीले भने राजनीतिक षड्यन्त्र भनेका हुन् । घटनाको कारण एमाले बिधान महाधिवेशन एक घण्टा ढिलो सुरु भएको थियो ।

ललितपुरका एसपी चक्रराज जोशीका अनुसार मन्त्री सवार गाडीलाई प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको छ ।

भदौ २१, २०८२, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर