विराटनगर । सुनसरीको झुम्कास्थित कारागारमा कैदीबन्दीबीच फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणका कारण तीन जनाको मृत्यु भएको छ भने सयौं विरामी परेका छन् ।
पछिल्लो पटक बुधबार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्युसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बुधबार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
सोमबार सुनसरीको गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।
उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा सोमबार उनीहरुको मृत्यु भएको हो ।
तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कारागारमा स्वास्थ्य सञ्चालन गरिएको थियो । बुधबार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको छ ।
उच्च ज्वरोको समस्या रहेका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएकोमा स्वास्थ्यकर्मीको टोलीले बुधबार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपासँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँग पनि भइरहेको प्रशासनले जनाएको छ । चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निश्कर्ष निकालेको प्रजिअ मिश्रले जानकारी दिए । झुम्का कारागारका १ हजार ७९४ जना कैदीबन्दी रहेका छन् ।