कोशीमा ६६ प्रतिशत हिंसा घरभित्रै

विराटनगर । महिलाका लागि सबैभन्दा सुरक्षित आश्रयस्थल मानिने घरभित्रै उनीहरू अत्यधिक असुरक्षित रहेको तथ्यांक महिला पुनस्र्थापना केन्द्र (ओरेक) सार्वजानिक गरेको छ । विराटनगरमा बुधबार ओरेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोशी प्रदेशका तीन जिल्लामा अभिलेखित कुल महिला हिंसाका घटनामध्ये ६६.४ प्रतिशत घटना घरभित्रै घटेका छन् । यसले पारिवारिक संरचनाभित्रै महिलाले भोग्नुपरेको गम्भीर हिंसा र असुरक्षाको भयावह चित्र उजागर गरेको छ ।

जनवरीदेखि जुन २०२५ सम्म कार्यालयमा आएका, सुरक्षा आवासमा सेवा लिएका, हटलाइनमा आएका र जिल्लाबाट अभिलेखिकरण गरिएका तथ्याङ्कलाई समेटेर त्रैमासिक प्रतिवेदनको रूपमा यो प्रकाशन गरिएको हो । जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा कोशी प्रदेशका तीन जिल्लाहरू (उदयपुर, सुनसरी र मोरङ) मा महिला हिंसासम्बन्धी कुल २११ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण भएको छ । यसमध्ये ५० जना हिंसा प्रभावितहरूले सुरक्षावासमा सेवा लिएका थिए भने अन्य १६१ वटा घटनाहरू सेवा लिने सेवाग्राहीहरूको रहेको ओरेक नेपाल कोशी प्रदेशकी कार्यक्रम संयोजक शोभा बजगाइँले जानकारी दिइन् । ‘उक्त घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी १४० वटा घटना घरेलु हिंसाबाट प्रभावित भएको देखिएको छ,’ उनले भनिन् । उनले घरेलु हिंसालाई निजी मामिलाको रूपमा लिने प्रवृत्तिका कारण समाजमा अझै पनि धेरै घटनाहरू बाहिर आउन नसकेको र महिलाहरू हिंसा सहन बाध्य भएको बताइन् ।

ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार, घरेलु हिंसा सबैभन्दा बढी १४० घटना रहेको छ, जसमा मानसिक, शारीरिक तथा भावनात्मक हिंसा समावेश छन्। यौन हिंसाका ४६ वटा घटनामा जबर्जस्ती करणी, यौन दुव्र्यवहार र बाल यौनदुव्र्यवहार प्रमुख रहेका छन्। सामाजिक हिंसाका १२ वटा घटना दर्ता भएका छन्। त्यस्तै अन्य हिंसाअन्तर्गत १३ वटा घटनामा प्रभावितहरूले मानसिक हिंसा, साइबर धम्की भएको कुरा उल्लेख गरेका छन् ।

उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरू हिंसाबाट प्रभावित भएका छन्। १८ वर्षभन्दा मुनिका १९ प्रतिशत किशोरी, १९ देखि २५ वर्ष उमेर समूहका २४ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका १५ प्रतिशत, ४६ देखि ५५ वर्ष उमेर समूहका ५ प्रतिशत र ५६ वर्ष उमेर समूहभन्दा माथिका ५ प्रतिशत महिला हिंसाबाट प्रभावित भएका छन् ।

प्रभावित र आरोपितबीचको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी हिंसा श्रीमान्बाट भएको छ, जसले कुल घटनाहरूमध्ये ५७ प्रतिशत ओगटेको छ । यसले पारिवारिक संरचनाभित्र हुने हिंसाको अवस्थालाई उजागर गरेको छ । परिवारका अन्य सदस्यबाट ३८ घटनाहरू, छिमेकीबाट २६ वटा घटनाहरू, प्रेमीबाट १६ वटा, अपरिचित व्यक्तिहरूबाट ८ वटा र परिचित व्यक्तिहरूबाट ६ वटा घटनाहरू भएको देखिएको छ । यो तथ्याङ्कले शक्ति सम्बन्धको असन्तुलन र विवाह संरचना समानतामूलक नहुँदा नजिकका व्यक्तिहरूबाटै महिलाहरूले हिंसा भोगिरहनुपरेको स्पष्ट गर्ने जानकारहरुले बताएका छन् ।

“महिलामाथि भइरहेको हिंसाको प्राप्त तथ्याङ्कले महिलाको सुरक्षित आश्रयस्थल मानिन्छ, त्यहीँ उनीहरू असुरक्षित देखाएको छ । पितृसत्तात्मक सोच, महिलाको शरीरमाथि स्व–निर्णय स्थापित हुन नसक्नु र हिंसालाई निजी मामिला ठान्ने प्रवृत्तिका कारण सयौँ घटनाहरू अझै पनि लुकाइएका छन्,’ कार्यक्रम संयोजक बजगाइँले भनिन्, “घरेलु हिंसालाई कानुनी र सामाजिक अपराधको रूपमा स्वीकार गरी यसको अन्त्यका लागि व्यक्ति र सामाजिक संरचना दुवैको सोच र व्यवहारमा परिवर्तन ल्याउनु अपरिहार्य छ ।’ कानुनको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि, लैंगिक समानताका लागि शिक्षा र पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न राज्य, नागरिक समाज र समुदायको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

भदौ १९, २०८२, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर