विराटनगर । मन्त्री र सचिवको विवादपछि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सुरक्षा दिनुपर्ने आफ्नो दायित्व भएकोले प्रहरी पठाइएको बताएका छन् । मंगलबार विहानबाट प्रहरीको १० जनाको टोली मन्त्रालय परिसरमै खटिएको हो ।
मन्त्री खगेनसिंह हाङ्गाम र उनका समर्थकले सचिव डा.शरणकुमार पाण्डेमाथि आक्रमण गर्नसक्ने भन्दै प्रहरी परिचालन गरिएको हो । मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चावी चालकमार्फत खोसेपछि विवाद चर्किएको थियो ।
सरुवा भएसकेकोक भएपनि सचिवले मुख्यमन्त्रीलाई रिझाएर आफ्नो सरुवा थमौती गरेको भन्दै मन्त्री हाङ्गाम असन्तुष्ट छन् । त्यहिकारण उनले सचिवको गाडी खासेका हुन् ।
विवाद बढेपछि मन्त्री हाङ्गाम गृहजिल्ला ताप्लेजुङ लागेका छन् भने सचिव पाण्डे पनि मन्त्रालय गएका छैनन् । ‘मन्त्री र उहाँका समर्थकहरुले आक्रमण गर्नसक्ने ठानेर सचिवज्यू मन्त्रालयमा आउनु भएको छैन,’ एक कर्मचारीले भने, ‘मन्त्रीज्यू पनि जिल्ला जाने भनेर निस्किनुभएको छ ।’
विवाद बढेपछि सचिव पाण्डेले एक हप्ताका लागि विदा लिने तयारी गरेको बताइएको छ । विदा लिएर चितवनस्थित घर जाने उनको तयारी छ ।
सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफलका लागि भन्दै मुख्यमन्त्री कार्यालय पुगेका पाण्डेको गाडी मन्त्रीले खोसेका थिए । छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि पाण्डेले सवारी चालकलाई फोन गरेका थिए । तर, चालकको फोन अफ रहेकोमा पछि बुझ्दा मन्त्रीले चाबी नै कब्जामा राखेको खुलेको थियो ।
गत साउनमै सचिव पाण्डेको सरुवा भएको थियो । तर, उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग समन्वय गरेर आफ्नो सरुवा थमौती गरेका छन् ।
सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकमा सचिव पाण्डेको सरुवा पुनः मुख्यमन्त्री कार्यालयमा भएकोले मन्त्रालयमा काम काज गर्न खटाउनेबारे छलफल भएको थियो । मन्त्री हाङ्गामले सरुवा भएर गइसकेको सचिवलाई हाजिर गर्न दिन्न भन्दै मुख्यमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेका थिए । त्यसलगत्तै मन्त्रीले सचिवले प्रयोग गर्ने गाडीको चावी खोसेका हुन् ।
मन्त्री हाङ्गाम र सचिव पाण्डेबीच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रीले करारका ड्राइभर तथा कार्यालय सहयोगीहरु हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने प्रयास गरेको आरोप छ । त्यसलाई सचिवले अस्वीकार गरेको जनाइएको छ ।
यसैबीच मन्त्री खगेनसिंह हाङ्गामले सचिवले प्रयोग गरेको सवारी साधनको साँचो सवारी चालक मार्फत खोसेको विषयमा आपत्ती जनाएका छन् । नेपाल फिसिरिज टेक्निसियन एसोसिएशन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएशन र नेपाल भेटेरिनरी एसोसिएशनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक सन्देशका साथै प्रतिकूल असर पु¥याउने प्रष्ट पारेका छन् ।
‘राजनीतिक र प्रशासनिक नेतृत्वबीच आपसी विश्वास, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुपर्ने अवस्थामा यस्तो घटना हुनु दुःखद भएको हामी मान्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पेशागत संस्थाहरूले यस अमर्यादित तथा अपमानजनक घटनाप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सबै सरोकारवालाहरूलाई अनुरोध समेत गरेका छन् ।
उनीहरूले सम्पूर्ण पेशागत संस्था, संस्थागत मर्यादा, कानूनी शासन र प्रशासनिक कार्यपद्धतिको निरन्तर पक्षधर रहेको कुरा पनि स्पष्ट पारेका छन् । यो घटनाले प्रदेश सरकारभित्र राजनीतिक र प्रशासनिक नेतृत्वबीचको सम्बन्धमा तनाव उत्पन्न भएको संकेत गरेको छ ।

