विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादन गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको छ । आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षमा कुल ९ करोड ९८ लाख ५३ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको उल्लेख छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३२९.६६ प्रतिशतले बढी हो । आयोगको वित्तीय प्रगति पनि ९०.१४ प्रतिशतबाट बढेर ९५.४२ प्रतिशत पुगेको छ ।

आयोगले यस अवधिमा प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका लागि ७७ वटा नयाँ पाठ्यक्रम निर्माण गरेको जनाएको छ । योसँगै हाल प्रयोगमा रहेका पाठ्यक्रमको संख्या १०० पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अवधिमा प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका लागि एक हजार ७० पदमा विज्ञापन प्रकाशन गरेको जनाएको छ । जसमा खुला तथा समावेशी तर्फ एक हजार ३५, अन्तर तह प्रतियोगिता तर्फ १४ र आन्तरिक अन्तर सेवा प्रतियोगिता तर्फ २१ पद रहेको उल्लेख छ । यसैगरी, बढुवा तर्फ ३१५ पदका लागि सूचना प्रकाशन गरिएको आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागार्इँले जानकारी दिए ।
विज्ञापन गरिएका पदहरूमा १ लाख २० हजार ३२३ दरखास्त परेका थिए, जसमध्ये प्रति पद औसत दरखास्त १११.१२ रहेको प्रतिवेदनमा भनिएको छ । भौगोलिक क्षेत्रअनुसार सबैभन्दा बढी ५०.०३ प्रतिशत दरखास्त तराई क्षेत्रबाट र प्रदेशगत रुपमा कोशी प्रदेशबाट ३२.१३ प्रतिशत दरखास्त परेको थियो । यस अवधिमा एक हजार ४२८ पदका लागि लिखित परीक्षा सञ्चालन गरिएको र औसत उपस्थिति दर ७३.९५ प्रतिशत रहेको थियो । ९०,५४८ उम्मेदवारहरूको १ लाख ७६ हजार ७६२ उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गरिएको आयाोगले जनाएको छ ।

आयोगले ५७० पदका लागि ५५२ जना उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये ११२ जना अर्थात् २०.२९ प्रतिशत महिला उम्मेदवार रहेको जानकारी दिइएको छ । कोशी प्रदेशमा सिफारिस भएका उम्मेदवारहरू देशका ६५ जिल्लाका रहेको र उनीहरुलाई कोशी प्रदेशका ४१ स्थानीय तह र ७ मन्त्रालयहरूमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । समावेशी समूह अन्तर्गत ४२८ पदका लागि १८६ जना उम्मेदवार सिफारिस भएका छन्, जसमा आदिवासी जनजाति ४३.०१ प्रतिशत, महिला ३३.८७, दलित १०.२२ लगायत अन्य समूहका उम्मेदवारहरू सिफारिस भएको उल्लेख छ ।

वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले लोकसेवा आयोगप्रति नेपाली जनतामा राम्रो विश्वास रहेको र यसको निष्पक्ष कामबाट विश्वास आर्जन गर्न सकेको बताए । उनले आयोगले धेरै काम गरेको र प्रतिवेदनमा ती कामहरूको बारेमा मिहिनेत गरेर तयार पारेको संक्षिप्त प्रतिवेदनबाटै देखिएको कुरा व्यक्त गरे । प्रदेश लोक सेवा आयोगले आफ्ना कामकारबाहीलाई सूचना प्रविधिमैत्री बनाउन विभिन्न अनलाइन प्रणाली र ई–प्रणालीहरू अपनाएको जनाएको छ । आयोगले प्रतिवेदनमा विभिन्न २३ बुँदामा सुझावहरू पनि प्रस्तुत गरेको छ, जसलाई सम्बन्धित निकायहरूबाट पूर्ण कार्यान्वयन हुने अपेक्षा गरेको छ ।