विराटनगर । नेकपा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य महेश चौधरीसहितको एक समूहले २४ वर्षीय युवा राज कटुवालको हातखुट्टा भाँचिने गरी निर्घात कुटपिट गरेको जघन्य घटना सार्वजनिक भएको छ । यो बर्बर आक्रमण भदौ ७ गते राती इटहरी ७, बजराहामा भएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीले पाँच दिनपछि मात्रै पीडित परिवारको जाहेरी दर्ता गरेको छ । पीडित परिवारले एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूले संरक्षण दिएको कारणले प्रहरीले ढिलोगरी जाहेरी लिएको आरोप लगाएका छन ।
भदौ ७ गते राती करिब १ बजेको मध्यरातमा इटहरी ७, बजराहा निवासी राज कटुवालमाथि योजनाबद्ध रुपमा आक्रमण भएको थियो । पीडित परिवारका अनुसार, सोही ठाउँका ३५ वर्षीय महेश चौधरी र उनका साथी २९ वर्षीय शिव चौधरीसहित १० देखि १५ जनाको हतियारधारी समूह, विशेषगरी रडसहित, कटुवालको घरमा पुगेका थिए ।

राजका बाबु टेकबहादुर कटुवालका अनुसार सुरुमा महेश एक्लै कटुवालको घरमा पुगेका थिए । गाउँकै चिनजानको व्यक्ति भएकाले राजकी आमा सीताले ढोका खोलिदिएकी थिइन् । तर ढोका खुल्नासाथ महेश र शिवसहितका अन्य व्यक्तिहरू भित्र पसी राजमाथि रडले अन्धाधुन्ध प्रहार गर्न थाले टेकबाहादुरले बताए । ‘यो अप्रत्याशित र क्रूर आक्रमणले राजलाई गम्भीर चोट पुर्यायो । छोरामाथि भएको बर्बर आक्रमण देखेपछि मेरी श्रीमती सीताले गुहार माग्दै चिच्याए । उनीहरूको आवाज सुनेर घरका अन्य सदस्यहरू आउन थालेपछि आक्रमणकारीहरू तत्काल घटनास्थलबाट फरार भए । आक्रमणमा परेर राज बेहोस भएका थिए,’ उनले भने , ‘मध्यरातमा छोरामाथि महेशसहितका मान्छे आएर हमला गरे । सुरुमा महेश एक्लै आएको थियो, गाउँकै चिनेजानेको मान्छे भएकाले मेरी श्रीमती सीताले ढोका खोलिदिइन् । त्यसपछि महेश र शिवसहित आएका मान्छेले रडले प्रहार गर्न थाले । छोरामाथि अन्धाधुन्ध आक्रमण सुरु हुन थालेपछि मैले गुहार गुहार भनें । त्यसपछि घरका अन्य सदस्य आएपछि आक्रमण गरेर उनीहरू फरार भए । छोरा बेहोस भयो ।’


राज कटुवाललाई निर्घात कुटपिट गरेपछि पनि आक्रमणकारीहरूको दुस्साहस रोकिएन । घटनापछि राजलाई उपचारका लागि लैजाने क्रममा महेशसहितका युवाहरूले सडकमा मोटरसाइकल तेस्र्याएर एम्बुलेन्स वा गाडी लैजान अवरोध सिर्जना गरेको पीडित परिवारले बताएका छन् । यसले पीडितलाई थप पीडा दिने र उपचारमा ढिलाइ गराउने नियत स्पष्ट देखाउँछ । इलाका प्रहरी कार्यालय इटहरीमा खबर गर्दा प्रहरी पनि ढिलो गरी पुगेको आरोप छ, जसले गर्दा समयमै उद्धार हुन सकेन । अन्ततः पीडित परिवारले राजलाई विराटनगरस्थित विराट नर्सिङ होममा पुर्याएका थिए, जहाँ अहिले उनको उपचार भइरहेको छ ।
आक्रमणमा परेर राज कटुवालको देब्रे खुट्टा र देब्रे हात भाचिएको छ । उनको खुट्टाको अप्रेसन भदौ १० गते भएको छ भने हातको अप्रेसन हुन बाँकी नै रहेको बाबु टेकबहादुरले बताए। चिकित्सकहरूले पनि खुट्टाको अप्रेसनपछि हातको अप्रेसन गर्न सुझाएका छन् । हाल राज राम्रोसँग बोल्न सकेका छैनन् र हिँडडुल गर्न पनि सक्दैनन्, यद्यपि उनलाई होस भने आएको छ । उनको पूर्ण स्वास्थ्य लाभ कहिले हुन्छ भन्ने अझै निश्चित छैन, जसले परिवारलाई ठूलो चिन्तामा पारेको छ ।

प्रहरीको भूमिकामाथि प्रश्न : पाँच दिनपछि बल्ल जाहेरी दर्ता
जघन्य अपराध भएको पाँच दिनपछि मात्रै इलाका प्रहरी कार्यालय इटहरीले पीडितको जाहेरी दर्ता गरेको छ । जसले राजनीतिक दबाब र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । पीडित परिवारले एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन् ।
भदौ ७ गते नै आक्रमणकारी महेश चौधरी र शिव चौधरीसहितको समूहविरुद्ध जाहेरी दिन घाइते राजका माइली दिदी राधिका कटुवाल र भिनाजु मौसम पाठक इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए । तर, प्रहरीले त्यसदिन जाहेरी दर्ता गर्न मानेन । घाइतेकी कान्छी दिदी विनिता कटुवालले पीडा व्यक्त गर्दै भनिन्, ‘यो पुगेन, त्यो पुगेन भन्दै पाँच दिनसम्म प्रहरीले झुलायो। आक्रमण गर्ने महेश एमालेको नेता र नगरपालिकामा पनि काम गर्ने भएकाले दबाबका कारण जाहेरी घटना भएको भोलिपल्ट नलिएर पाँच दिनपछि भदौ ११ गते मात्रै इलाका प्रहरी कार्यालय इटहरीले ज्यान मार्ने उद्योगमा लियो ।’
उनले भनिन्, ‘तेही भएर अहिलेसम्म भाइमाथि आक्रमण गर्ने मुख्य मान्छे महेश अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।’ प्रहरीले राजनीतिक नेताको दबाबमा पाँच दिनसम्म जाहेरी नलिएको आरोपले प्रहरी प्रशासनको निष्पक्षता र कानुनको पालनामाथि गम्भीर प्रश्न उठाएको छ । यो ढिलासुस्तीले प्रमाण नष्ट गर्ने र अपराधीलाई भाग्ने मौका दिएको हुन सक्ने आशंका पनि बढेको छ ।

मुख्य आरोपी महेश अझै फरार, राजनीतिक संरक्षणको आरोप
इलाका प्रहरी कार्यालय इटहरीले घटना भएको पाँच दिनपछि शिव चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई पाँच दिनका लागि ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । एकजना आरोपी पक्राउ पर्नु सकारात्मक भए पनि घटनाका मुख्य योजनाकार र नेतृत्वकर्ता महेश चौधरी अझै फरार छन् ।
सुनसरी प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको बताए पनि पीडित परिवारका अनुसार महेश गाउँघरमै लुकिरहेका छन् । पीडित परिवारले उनलाई एमालेका जिल्लादेखि प्रदेशसम्मका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन्। प्रहरीले सक्रिय रूपमा खोजी गरिरहेको बताइरहँदा पनि मुख्य आरोपीको गाउँमै लुकेर बस्न सक्ने अवस्थाले प्रहरीको दाबीमाथि थप शंका उत्पन्न गराएको छ । यदि राजनीतिक पहुँचका कारण अपराधीलाई संरक्षण दिने हो भने न्यायको ढोका कसरी खुल्ला भन्ने चिन्ता पीडित परिवारमा देखिएको छ ।


प्रतिशोधमा आक्रमण गरेको आशंका
घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीका अनुसार प्रारम्भिक चरणको अनुसन्धानबाट पुरानो रिसइबीलाई लिएर आक्रमण भएको देखिएको छ । घाइते राज कटुवाल र आक्रमणका मुख्य व्यक्ति महेश चौधरीको गाउँ एउटै हो । एक प्रहरी अधिकृतका अनुसार, राज कटुवालले आक्रमण हुनुभन्दा अगाडि दिउँसो शिव चौधरीलाई हेलमेटले आक्रमण गरेको बुझिएको छ । ती प्रहरी अधिकृतले भने, “राज कटुवालले दिउँसो बाटो छेकेर शिव चौधरीलाई हेलमेटले आक्रमण गरेको देखिएको छ । त्यही रिस फेर्न पछि शिवले महेशसहितका युवाहरूलाई लिएर आक्रमण गरेको पनि हुन सक्छ । त्यही भएर अहिले यस घटनाको गहन अनुसन्धान भइरहेको छ ।”
यो दुईतर्फी झडपको पाटोलाई पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ, तर मध्यरातमा १०–१५ जनाको समूहले घरमै पसी अन्धाधुन्ध आक्रमण गरी राजको हातखुट्टा भाचिने अवस्थामा पुर्याउनु सामान्य झडप मात्रै मान्न सकिँदैन । दिउँसो भएको सम्भावित झगडाको बदला लिन मध्यरातमा घरमै पसी हतियारसहितको समूहले आक्रमण गर्नु गम्भीर अपराध हो । यसले महेश चौधरीको नेतृत्वमा भएको आक्रमण योजनाबद्ध र प्रतिशोधात्मक भएको देखाउँछ ।