विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिं हाङ्गामले पदीय शक्तिको दुरुपयोग गर्दै मन्त्रालयका सचिवले प्रयोग गर्ने सरकारी गाडीको चाबी चालकबाट खोसेको भन्दै नेपाल निजामती कर्मचारी संगठनले कडा आपत्ति जनाएको छ।
संगठनले आज एक कडा विज्ञप्ति जारी गर्दै राष्ट्रसेवामा खटिएका कर्मचारीमाथि मन्त्रीबाटै भएको व्यवहारलाई ‘अमर्यादित, अपमानित तथा अत्यन्त घृणित’को संज्ञा दिँदै घटनाको भर्त्सना गरेको हो। मन्त्रालयका प्रदेश सचिव डा. शरणकुमार पाण्डेले मन्त्रालयको कामको सिलसिलामा प्रयोग गरिरहेको सरकारी सवारी साधनको चाबी चालकबाट खोसिएको घटनाप्रति संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका कोशी प्रदेश अध्यक्ष हरि प्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बहालवाला मन्त्रीबाट गरिएको अमर्यादित, अपमानित तथा अत्यन्त घृणित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित कार्य वातावरणको समेत प्रत्याभूत हुन नसकेकोले यस किसिमको घटना निन्दनीय र भर्त्सना योग्य भएको हाम्रो ठहर रहेको छ।’
संगठनले उक्त कार्यमा संलग्न मन्त्रीलाई तत्काल सार्वजनिक रूपमा क्षमायाचना गर्न र भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ। साथै, दोषीमाथि आवश्यक कारबाही गर्दै प्रदेशका सम्पूर्ण सरकारी निकायहरूमा कर्मचारीहरूका लागि सुरक्षित एवम् मर्यादित कार्य वातावरण प्रत्याभूत गर्न पनि संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।


