उदयपुर । उदयपुरको कटारी बजारमा सरकारले किसानलाई वितरण गर्न अनुदानमा पठाएको २ सय बोरा मलव्यापारीको गोदाममा लुकाइएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले कटारी बजारका व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदामबाट उक्त मल फेला पारेको हो ।
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेले गोदामलाई तत्काल शिलबन्दी गरी छानबिन अघि बढाइएको जानकारी दिए ।
“कहाँबाट मल आएको हो ? यसमा कसको मिलेमतो छ भन्नेबारे पूर्ण छानबिन हुन्छ । आवश्यक कारबाहीका लागि कटारी नगरगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले भने “नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले यस घटनामा संलग्नलाई कारबाही गर्न छ।”
मिलेमतोमा कालोबजारी
कटारी बजार क्षेत्रमा लामो समयदेखि रासायनिक मलको अभाव देखिएको थियो । यसै बहानामा व्यापारीहरूले अनुदानमा आएको मल लुकाएर कालोबजारी गरी महँगोमा बिक्री गर्ने गरेको किसानहरूको आरोप छ ।
कृषक माधव धमलाले भने, “सरकारले किसानलाई सहजै मल पुर्याउने नीति ल्याए पनि व्यापारीहरूले बीचमै अड्काएर बढी मूल्यमा मल बिक्री गर्दै आएका छन् ।”
सरकारले स्थानीय सरकारको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थामार्फत किसानलाई मल पु¥याउने व्यवस्था गरेको छ । तर, कटारीमा व्यापारीको गोदाममा अनुदानको मल पुग्नुलेले अनुदानको मलको दुरुपयोग भएको देखिन्छ ।
यसैबीच अनुगमनको क्रममा टोलीले कटारी बजारका २८ वटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा करिब १ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ, सुर्तीलगायतका सामान जफत गरी नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले जानकारी दिइन् ।
त्यसैगरी कानुनविपरीत व्यापार गरेको आरोपमा अञ्जली पाउरोटी उद्योग र रञ्जना स्टोर्सलाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

