लोड हुँदैछ...

मेनु

काजकिरियामा बसेका परिवारमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

काजकिरियामा बसेका परिवारमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

विराटनगर । विराटनगर–११ पछिरास्थित दुर्गा मन्दिर अगाडी आफ्नी आमाको काजकिरियामा बसेका परिवारमाथि जग्गा विवादको आडमा आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का प्रमोद सहनी र सुनिल सहनी रहेका छन् ।

मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार, उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा बुधबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।सोमबार मध्यरातमा मदिराको नशामा रहेका प्रमोद र सुनिलले आमाको निधन भएपछि हिन्दू संस्कारअनुसार काजकिरियामा बसेका ४९ वर्षीय किरण कामतसहित उनको परिवारमाथि आक्रमण गरेका थिए। आक्रमणमा परिवारका सदस्यहरू घाइते भएका छन् । घरमा किरणका बुवा हरिनारायण कामत, बहिनी काली कामत र भाइ सन्तोष कामत रहेका थिए । आमा शारदा देवी कामतको निधनपछिको दुःखको घडीमा परिवारमाथि यो आक्रमण भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो आक्रमण विराटनगर–११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गा विवादसँग सम्बन्धित रहेको बुझिएको छ । कामत परिवार विगत ३५ वर्षदेखि भोगचलन गर्दै आएको उक्त जग्गा डेला देवी दाहालको नाममा दर्ता छ । यो जग्गा विवाद विगतमा अदालतसम्म पुगेको थियो । जिल्ला अदालत हुँदै उच्च अदालतले वि.सं. २०५३ सालमा हरिनारायण कामतको पक्षमा फैसला गर्दै उक्त जग्गामा उनको बसोबासको हक कायम गरिदिएको थियो ।
‘अदालतले समेत हामीले भोगचलन गर्दै आएको जग्गामा हाम्रो हक स्थापित गरिदिएको छ । मुद्दा अहिले पनि विचाराधीन अवस्थामै छ,’ पीडित परिवारका सदस्य सन्तोष कामतले भने ।

जग्गाधनी डेला देवी दाहालले उक्त जग्गाको सबै कारोबार र मुद्दा मामिला हेर्नका लागि आक्रमणकारी मध्येका एक, ३५ वर्षीय सुनिल सहनीलाई वारेसनामा दिएकी छन् । यही वारेसनामाको आडमा सुनिल र उनका साथी प्रमोदले कामत परिवारलाई उक्त जग्गाबाट हटाउन अनेकौं पटक धम्की र दबाब दिँदै आएको परिवारको आरोप छ । ‘उनीहरू हामीलाई यहाँबाट जसरी पनी हटाउन चाहन्छन् । अदालतको फैसला पनि मान्दैनन् । त्यही जग्गाको निहुँमा बेलाबेला आएर थर्काउने, धम्काउने गर्थे,’ सन्तोषले भने, ‘अहिले आमा बित्नुभएको र हामी सबैभन्दा कमजोर भएको मौका पारेर उनीहरूले यो आक्रमण गरे ।’

प्रहरीले प्रमोद सहनी र सुनिल सहनीमाथि ‘अभद्र व्यवहार’को मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

यो घटनामा अभियुक्तहरूले काजकिरियामा बसेका व्यक्तिहरूको घरभित्र प्रवेश गरी आक्रमण गरेको र परिवारका सदस्यहरूलाई शारीरिक तथा मानसिक पीडा दिएको देखिन्छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र दोषीमाथि कडा कारबाहीको माग पीडित परिवारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।