लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको स्वास्थ्य नीति केही उज्यालो केही चुनौतीहरू

कोशी प्रदेशको स्वास्थ्य नीति केही उज्यालो केही चुनौतीहरू

कोशी प्रदेश सरकारले ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ को नारासहित हालै सार्वजनिक गरेको ‘प्रदेश स्वास्थ्य नीति, २०८२’ लाई एउटा महत्वाकांक्षी र सकारात्मक दस्तावेजको रुपमा लिनुपर्छ । प्रदेशका हरेक नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ ल्याइएको यो नीतिले प्रदेशको स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीहरूलाई स्वीकार गर्दै समाधानको मार्गचित्र कोर्ने प्रयास गरेको छ । शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ नागरिक तयार पार्ने बृहत् सोच बोकेको यो नीति आफैँमा स्वागतयोग्य छ । तर, कुनै पनि नीतिको वास्तविक सफलता त्यसको कार्यान्वयनमा निर्भर रहन्छ, र यसका लागि आगामी बाटो निकै चुनौतीपूर्ण देखिन्छ ।

यो नीतिले प्रदेशको स्वास्थ्य क्षेत्रको तीतो यथार्थलाई स्वीकार गरेको छ । प्रदेशमा २० प्रतिशतभन्दा बढी स्वास्थ्य जनशक्तिको अभाव हुनु, पूर्वाधारको कमी, विशेषज्ञ सेवा र सघन उपचार (आईसीयू) को अपर्याप्तता जस्ता गम्भीर समस्याहरूलाई नीतिले उजागर गरेको छ । यसबाहेक, पाँच वर्षमुनिका करिब एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन् उमेरका महिलाहरूमा व्याप्त कुपोषणको समस्याले भविष्यको मानव पुँजीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यी समस्याहरूको पहिचान गर्नु नै समाधानको पहिलो खुड्किलो हो, र यसका लागि प्रदेश सरकारलाई धन्यवाद दिनुपर्छ ।

यस नीतिको सबैभन्दा महत्वपूर्ण पक्ष मानसिक स्वास्थ्यलाई दिएको प्राथमिकता हो । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० को तथ्याङ्कले कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको भयावह चित्र प्रस्तुत गरेको छ । प्रदेशमा मानसिक रोगको व्यापकता १३.९५ प्रतिशत रहनु, किशोरकिशोरीमा ११.४५ प्रतिशत हुनु र आत्महत्याको सोच राख्नेहरूको दर १०.६५ प्रतिशतजस्तो उच्च हुनुले यो प्रदेश एक किसिमको मौन महामारीबाट गुज्रिरहेको स्पष्ट हुन्छ । यस्तो अवस्थामा, नीतिले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस क्षेत्रमा तत्काल रणनीतिक हस्तक्षेपको आवश्यकतालाई स्वीकार गरेको छ, जुन अत्यन्तै सराहनीय छ ।
नीतिले ६ वटा उद्देश्य र २६ वटा रणनीतिहरू मार्फत स्वास्थ्य क्षेत्रका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ । तर, सुन्दर अक्षरमा कोरिएको नीति मात्रै नागरिकको स्वास्थ्य सुधारको ग्यारेन्टी बन्न सक्दैन । यसको सफल कार्यान्वयनका लागि तीनवटा कुरा अनिवार्य छः स्पष्ट कार्ययोजना, पर्याप्त बजेट र अटुट राजनीतिक इच्छाशक्ति। स्वास्थ्य क्षेत्रका विज्ञहरूले औंल्याएझैँ, यो नीतिको हरेक बुँदालाई कार्यान्वयन गर्न कति बजेट चाहिन्छ, जनशक्ति कसरी पूर्ति गरिन्छ र कुन काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने स्पष्ट खाकासहितको कार्ययोजना तत्काल आवश्यक छ ।

अर्को प्रमुख चुनौती तीन तहका सरकारबीचको समन्वय हो। विगतमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा धेरै राम्रा कार्यक्रमहरू पनि प्रभावहीन बनेका उदाहरण छन् । यो नीतिले तीनै तहका सरकारबीच कसरी सहकार्य र समन्वय स्थापित गर्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।अन्त्यमा, कोशी प्रदेश सरकारले एक सही निदानसहित आवश्यक नीतिको घोषणा गरेको छ । अब यसलाई सफल पार्ने जिम्मेवारी सरकारको दृढ इच्छाशक्ति, कर्मचारीतन्त्रको सक्रियता र सबै सरोकारवालाको सहकार्यमा टिकेको छ । यो नीति केवल कागजको खोस्टोमा सीमित नहोस्, यसले कोशी प्रदेशका हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् । यसको सफलता अक्षरमा होइन, नागरिकको मुहारमा देखिने मुस्कानमा मापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।