विराटनगर । पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले मंगलबार एमाले कार्यालयमा पुगेको विषयमा खुसी हुँदै बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखिन् । उक्त स्टाटसमा उनले एमाले मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिलाई धन्यवाद पनि दिएकी छन् ।
‘झण्डै एक दशकपछि, म नेकपा (एमाले), मोरङ जिल्ला कमिटिको कार्यालय, मदन भण्डारी समृति भवन, विराटनगर पुगेँ । त्यहाँ पुगेर दिवंगत नेताहरू–नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारी तथा नेपालको पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति श्रद्धासुमन अर्पण गरेँ,’ उनले लेखेकी छन्, ‘लामो समयपछि पार्टी कार्यालय पुग्दा अत्यन्त खुसीको अनुभूति भयो । यस भ्रमणका लागि आवश्यक व्यवस्था मिलाइदिनुभएकोमा नेकपा (एमाले) मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।’
मङ्गलबार विद्या भण्डारी सहभागी हुने विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा कार्यकर्ताहरु सहभागी हुन हुने र नहुने भन्ने विषयमा एमालेभित्र विवाद सिर्जना भयो । एमालेको संस्थापन (अध्यक्ष केपी शर्मा ओली)पक्षले भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी नै जारी गरे । एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले त पत्र पठाएरै त्यस्तो कार्यक्रम नगर्न निर्देशन दिएको बताए ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जब कोशी भ्रमणमा निस्किन्छन् संस्थापन एमाले भित्र चासो र चिन्ता बढ्ने गरेको छ । सामाजिक सञ्जालमा उनी सहभागी कार्यक्रममा सहभागी हुने र हुन नहुने भन्ने विषयमा बहस सुरु हुन्छ । आखिर भण्डारी पूर्व आएर कार्यकर्तासँग भेटघाट हुँदैमा एमाले संस्थापनमा किन त्रास उत्पन्न हुन्छ ? यस विषयमा प्रतिक्रिया दिँदै राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल एमाले नेतृत्वमा भण्डारीप्रति एक किसिमको ‘मनोवैज्ञानिक त्रास’ रहेको दाबी गर्छन् । ‘एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियतालाई रोक्न खोजिरहेको देखिन्छ । जसको उदाहरण पार्टी कार्यालय भ्रमणमा अवरोधको प्रयास हो,’ पोखरेलले भने, ‘एमाले नेतृत्वमा भण्डारीप्रति एक किसिमको मनोवैज्ञानिक त्रास छ । यदि विद्या भण्डारी पार्टीमा सक्रिय भएमा, हाल दमनमा परेका वा किनारामा पारिएका नेता–कार्यकर्ताले उनलाई केन्द्र बनाएर संगठित हुने र आफ्नो आवाज उठाउने डर संस्थापन पक्षलाई छ ।’ भण्डारीले सीधै टकरावको बाटो नलिएर नम्रतापूर्वक तर निरन्तर आफ्ना गतिविधि र भेटघाट जारी राख्ने रणनीति अपनाएको पोखरेल बताउँछन् । ‘नेतृत्वले उनलाई रोक्न खोज्दा उल्टै उनको पक्षमा माहोल बनिरहेको र कार्यकर्तामा थप सहानुभूति बढिरहेको देखिन्छ,’ पोखरेलले भने ।
एमाले कोशी प्रदेशका अध्यक्ष खतिवडा भने भण्डारी कोशी आउँदैमा कुनै त्रास नहुने बताउँछन् । ‘कार्यकर्ता भेला पार्टी कार्यालयमा नगर्नुहोस् भनेको हो मैले । भेला भनेर सूचना दिएर त्यो ढंगले पार्टीको आधिकारिक लेटरहेडमा बोलाएर नगर्नुस् भन्या हो,’ खतिवडाले भने, ‘प्रदेश कमिटीको तर्फबाट उहाँहरुलाई पत्र दिएरै त्यस्तो सूचना आयो बाहिर । उहाँहरुले ह्वाट्सएपमै हालेर सूचना चाहिँ बाहिर दिनुभयो । मेसेन्जरबाट दिनुभयो । पार्टीको प्रयोग भएको छ । त्यसो नगर्नुहोस् भनेर सचेत गराएको हो ।’
उनले विधि, पद्धतिसम्मत ढंगबाट जानुहोस् भनेर भन्नु डराको नहुने बताए । ‘त्यसरी जानु पूर्व राष्ट्रपतिको सम्मान, गरिमा, त्यसले पार्टीको क्याडर्स हुनका लागि सुहाउने गरिमा होइन । पार्टीको क्याडर्स नबन्नुहोस् । तपाईं सम्मानित व्यक्तित्व बसेर अलिकति चाहिँ सामाजिक कामहरुमा अगाडि आउनुहोस्, त्यो हिसाबले भनेको हो नि,’ खतिवडाले भने, ‘यो केन्द्रीय कमिटीको सल्लाह हो । पार्टीकै सल्लाहमा उहाँ राष्ट्रपति हुनुभएको हो । अनि पहिला चाहिँ राष्ट्रपति हुँदा पार्टीको सल्लाह चाहिने, अहिले नचाहिने त हुँदैन नि त ।’
एमाले पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटाले भने जो कोही पार्टी कार्यालयमा आउन सक्ने बताउँछन् । ‘प्रथम राष्ट्रपति डा. रामवरण यादवले म सम्बद्ध राजनीतिक दलको कार्यालय वा घरदैलोमा आउन चाहे भने र पनि आफू त अगाध खुसी व्यक्त गरिन्छ । सकेसम्म सम्मान गर्दछु । आजको हाम्रो राजनीतिक व्यवस्थाले बनाएको राष्ट्रपति हो उहाँहरू । यो पनि एउटा निश्चित कार्यकालको लागि हो,’ बास्कोटाले भने, ‘उहाँहरू कोही पनि सामन्ती अभिजातीय वर्गको उत्तराधिकारी शाह वंशीय जन्मसिद्ध होइन । मरणोपरान्त पनि राजा मानिरहनुपर्ने जस्तो पनि राष्ट्रपति होइन । जनसर्वसाधारणको पहुँचमा रहेका यी व्यक्ति व्यक्तित्वलाई सम्मान गर्ने नै हो नि !’
विद्याको कोशी केन्द्रित गतिविधि
विद्या भण्डारी यसअघि जेठको अन्तिम साता झापामा आयोजित पार्टी कार्यक्रममा भाग लिएकी थिइन् । चीन भ्रमणबाट फर्किए लगत्तै झापा र मोरङमा आयोजित कार्यक्रमहरुमा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारीले १४ असारमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् ।
मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रम मार्फत् भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमाले राजनीतिमा ठूलै हलचल आयो । ओलीले अघिल्लो वर्ष नै नवीकरण भइसकेको विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय गराए । पार्टी पदाधिकारीहरुकै असहमतिबीच ओलीले भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय सुनाएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले भने आफ्नो राजनीतिक गतिविधि कोशी तिरै केन्द्रित गरिरहेकी छन् । ‘विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय कार्यान्वयन हुन नसक्ने सार्वजनिक घोषणा गरिसक्नु भएको छ । त्यसैले उहाँले पार्टी नेताकै हैसियतमा आफ्नो गतिविधि चलाइरहनुभएको छ,’ एमाले नेता विनोद भण्डारी भन्छन् । सोमबार (भदौ २ गते) विराटनगरमा आयोजित एक गैर राजनीतिक कार्यक्रममा सहभागी भएकी भण्डारी सोमबार अबेरसम्म र मंगलबार दिउँसो १ बजेसम्म राजनीतिक कार्यकर्तासँग भेटघाटमै केन्द्रित भइन् ।
त्यसक्रममा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट प्रदेश सरकारमा सहभागी सबै मन्त्रीलाई लिएर भण्डारी बसेको होटल बिगमा पुगेका थिए । उनीहरुले भण्डारीसँग के कुरा गरे भन्ने विषयमा भने खुलेको छैन । यद्यपि भेटघाट रातविरात चलिरहयो । स्रोतका अनुसार झण्डै २ सय नेता कार्यकर्तासँग भेटघाट भयो ।
विराटनगरकै जस्तो कार्यक्रम भदौ १४ गते वीरगञ्जमा पनि हुँदैछ । त्यहाँ पनि गैरराजनीतिक फोरमकै निम्ति पूर्वराष्ट्रपति भण्डारी जाने तयारी छ । वीरगञ्ज उद्योग वाणिज्य संघले गर्ने सम्मान कार्यक्रममा भण्डारी प्रमुख अतिथि हुन लागेकी हुन् । भण्डारीले मदन भण्डारीको ७५औं जन्मजयन्ती समारोहको नाममा स्थापना हुने कार्यालय उद्घाटन कार्यक्रम काठमाडौंस्थित थापागाउँमा भदौ ५ गते गर्दैछिन् ।
गत माघ १४ गते विराटनगर आएर भण्डारी एक हप्तासम्म बसेकी थिइन् । एक हप्ताको बसाइँमा उनले हजारौं नेता–कार्यकर्ता, सामाजिक र प्राज्ञिक क्षेत्रका अगुवासँग भेटघाट गरिन् । उनले त्यसबेला एमालेका नेता कार्यकर्तासँग मात्रै नभएर एमालेबाटै विभाजित भएका नेकपा एकीकृत समाजवादीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूसँग पनि भेटघाट गरेकी थिइन् । त्यसक्रममा करिब एक दर्जन कार्यक्रममा सहभागी भइन् । माघ १४ गतेदेखि २० गतेसम्म भण्डारीले अनौपचारिक रूपमा झन्डै एक हजार जतिलाई भेटेको उनीनिकट नेता एमाले मोरङका सचिव सोमराज थापा बताउँछन् । भण्डारीकै सक्रियताको कारण एमाले मोरङको अधिवेशन र विराटनगर अधिवेशन प्रभावित भएर संस्थापन इतरले जितेको कतिपयको भनाइ छ ।