धरानको रोकिएको बजेट प्रक्रिया अघि बढ्यो

विराटनगर । धरान उपमहानगरपालिकाले लामो समयदेखि रोकिएको बजेट प्रक्रिया अघि बढेको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। बजेटको स्रोत तथा सीमा निर्धारण समितिले बजेटको सिलिङ टुङ्ग्याएर वडा तहमा पठाइसकेको उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष मनोज कुमार भट्टराईले बताए । उपमहानगरका २० वटा वडाहरूका लागि कूल २१ करोड रुपैयाँको सिलिङ पठाइएको छ ।
आगामी शुक्रबारसम्म वडाहरूले आफ्नो योजना टुङ्ग्याउने समयसीमा दिइएको प्रवक्ता भट्टराईले बताए । वडाबाट योजनाहरू आएपछि कार्यपालिका बैठक बस्ने र त्यसपछि नगरसभाबाट बजेट पारित गरिने उनले बताए ।

यद्यपि बजेटको स्रोत अनुमान तथा सीमा निर्धारण समितिमा नेकपा (एमाले) ले असहमति जनाएको थियो । समितिमा एमालेको असहमति हुँदाहुँदै पनि बहुमतको आधारमा सिलिङ पारित गरेर वडाहरूमा पठाएको हो । धरान उपमहानगरमा एमालेको बहुमत भए पनि स्रोत अनुमान समितिमा मेयर हर्क साम्पाङ, नेपाली कांग्रेस र माओवादी मिल्दा बहुमत पुगेको थियो । सोही बहुमतका आधारमा बजेटको सिलिङ पारित गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

अब वडास्तरको योजना छनोट प्रक्रिया सकिएलगत्तै आगामी आइतबार र सोमबार कार्यपालिका बसेर नगरसभा बोलाउने तयारी रहेको छ ।

भदौ ३, २०८२, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर