लोड हुँदैछ...

मेनु

एमाले अन्तरविरोध

‘कमल थापा स्वीकार्य हुने तर विद्या भण्डारी किन नहुने ?’

‘कमल थापा स्वीकार्य हुने तर विद्या भण्डारी किन नहुने ?’

नेकपा एमालेको केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिदियो । त्यसपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन र धमाधम भइरहेका पार्टी कमिटीका बैठकहरुमा एमालेका नेताहरुले केन्द्रीय समितिको यो निर्णयसँगै भण्डारीको राजनीतिमा आउने चाहना अब सँधैका लागि बन्द भएको आशय व्यक्त गर्न थालेका छन् । यद्यपि उनको राजनीतिक भविष्यको विषयलाई लिएर एमाले भित्रको बहस अझै चर्किँदै गएको छ । पार्टीको संस्थापन पक्ष भण्डारीको सक्रियताको विपक्षमा उभिए पनि एउटा तप्का भने उनको पुनरागमन अनिवार्य रहेको बताउँदैछ । केन्द्रीय समितिको निर्णय सच्चिनुपर्छ भन्ने विषयमा खुलेर बोल्नेमध्येका एक हुन् केन्द्रीय सदस्य युवराज बास्कोटा । उनले यो निर्णयलाई ‘प्रतिगमन’ सच्चाइएको घटनासँग तुलना गर्दै अन्ततः सच्चिने दाबी गरेका छन् । आसन्न विधान महाधिवेशनले केन्द्रीय समितिको निर्णय उल्टाउने र भण्डारीको राजनीतिक हक सुनिश्चित गर्ने उनको विश्वास छ । प्रस्तुत छ भण्डारीको आवश्यकता, अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी र पार्टीभित्रको आन्तरिक संघर्षबारे बास्कोटासँग गरिएको कुराकानीको सम्पादित अंश :



पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रिय हुने घोषणा त घोषणामै सीमित हुने भयो होइन । एमालेले सदस्यतै नवीकरण गरेन नि ?
–होइन । म यस्तो मान्दिनँ । एमाले केन्द्रीय कमिटीको बैठकपछि जारी भएको पछिल्लो सार्वजनिक विषयवस्तुले यस्तो लाग्ला तर यो मात्र पर्याप्त होइन । उहाँका लागि एमालेको राजनीतिक बैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँहरू छन् ।

तपाईंले उहाँका लागि एमालेको राजनीतिक बैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँहरू छन् भन्नुभयो । त्यस्ता ठाउँहरू चाहिँ के के हुन् ?

– संघीय लोकतान्त्रिक गाण्तन्त्र नेपाल कार्यान्वयनमा आएको एक दशकपछि पनि नेपाली समाजको वस्तुगत र मनोगत अवस्थाको सुक्ष्म अध्ययन गर्ने, अध्ययनको सापेक्षमा बिचारको कसीलाई निखार्ने, खार्ने र सामाजिक–आर्थिक परिवर्तन र रुपान्तरणका मुद्दामा आधारित रहँदै हामीले सैद्धान्तिक अस्त्रको रुपमा स्वीकार गरेको जनताको बहुदलीय जनवादका बारेमा यसको झण्डामुनि उभिएर व्यापक स्तरमा अभियान चलाउने, विचारको साँघुरोपन र संकुचित मनका विरुद्ध कार्यकर्ता पंक्तिलाई सचेत तुल्याउने, मानिसका निजी आकांक्षाको तुलो भारी पार्नका लागि विचार मर्न दिनुहुँदैन भनेर कार्यकर्तामा जाने काम गर्न सकिन्छ । राजनीतिक अभिभारा पूरा गर्नु भनेको अर्थराजनीतिका दृष्टिकोणले समाजलाई बलियो र सुदृढ तुल्याउनु हो । यो काम बाँकी नै छ भनेर निर्विघ्न अभियान चलाउनुपर्ने छ । अब यो काम उहाँको नेतृत्वमा हुन्छ, उहाँले गर्नुहुन्छ ।

एमाले नेताहरूले प्रत्येक बैठक र छलफलमा उहाँबारे छलफल गर्नै रोक लगाइएका छन् । कोशी प्रदेश समितिकै बैठकमा पनि निषेध गर्न खोजियो हैन र ?

– आँप, लिचीले झट्टी सहनुपर्छ । तर, खयरको वृक्षले कहिल्यै झट्टी खानुपर्दैन । उहाँको राजनीतिक सक्रियताको बाटो नै बन्द भएको भए फेरि चर्चा चाहिँ किन भइरहन्छ ? यो चर्चाका अघिपछि मनोवैज्ञानिक शङ्का, डर, त्रास आदि त छ नि ! होइन र ? जहाँसम्म भरखरै सम्पन्न एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको कुरा हो । त्यहाँ नेतृत्वको प्रस्तुतिमा अलिअलि राग त देखिन्थ्यो नै । तथापि, राजनीतिलाई विचार र जबजको बैचारिक मर्मअनुरुप व्यवहारको कसीमा बुझ्ने पंक्तिले त कुरा उठाएकै छ । नेतृत्वलाई निर्णय सच्चयाउन दवाव दिएकै छ । केही दिनअघि बागमती, आज कोशी हुँदै यो क्रम बढ्दो छ ।

त्यसो गर्दैमा एमालेले यो निर्णय सच्याउँछ जस्तो लाग्छ तपाईंलाई ? निर्णय सच्याउने ठाउँमा कसरी पु¥याउने ?

– यो अभियानले नै कार्यकर्तालाई जोड्ने हो । जोडिएको कार्यकर्ता पंक्ति यति विषय बुझेपछि आजको आवश्यकतालाई बुझ्छ । आवश्यकताअनुरुपको नेतृत्व खोज्छ र भूमिकामा जोड्न प्रयत्नशील रहन्छ । पार्टी जीवनको व्यवस्थापनमा मैदानमा उत्रिएका दुई फरकफरक परिचयबाहक खेलाडीजस्तो मात्र होइन । फेरि उहाँले कसैलाई सक्न र कसैलाई रोक्न सक्रिय राजनीतिमा आउन लागेको भन्नुभएकै छैन । अहिलेसम्म प्राप्त अध्ययन र अनुभवसहितको ज्ञान राजनीतिक कामको मूल प्रवाहमा जोड्न चाहेको दर्शाइरहनुभएको छ । यदि, कार्यकर्ताले यो पक्षलाई चाहे भने नेतृत्व आफूबाट भए गरिएका निर्णयको परिस्कृत स्वरुप विकास गर्न सक्छ नि ! सक्दैन र ?

एमाले केन्द्रीय समितिले उहाँको सदस्यता नवीकरण नगर्ने भनेर गरेको निर्णय चाहिँ कहिले सच्चिएला त ?

– उहाँको पार्टी सदस्यता नवीकरण भएको विषय सार्वजनिक भइसकेको छ । यो नामेट छ । यसलाई बदर गर्ने, अनादर गर्ने विषय राजनीतिक जीवनका लागि अनुचित घटना हो, सच्चाइनुपर्छ भनेर आवाज उठ्न थालेको छ । समयक्रममा सच्चिन्छ । विधान महाधिवेशनको मञ्चसम्म पुग्दा यो निर्णय सच्चिएर र परिस्कृत भएर आउने छ । हामी कहिले प्रतिगमन आधा सच्चियो, कहिले आंशिक सच्चियो र कहिले पूरै सच्चियो भन्दै आएका कार्यकर्ता पंक्ति हौँ । घटनाक्रममा व्यक्ति र व्यक्तिको भूमिकालाई पढ्ने हो । त्यो क्रम जारी छ । कहिले कमल थापालाई आफ्नो मानियो, कहिले राजेन्द्र लिङ्देनलाई । तर विद्यादेवी भण्डारी चाहिँ आफ्नो पार्टीको नेता नेतृत्व किन हुन नसक्ने ? कार्यकर्ता पंक्तिमाझ विमर्श हुन थालेको छ । यो संगठित ढंगले विधान महाधिवेशनसम्म पुग्दा निर्णय सच्चिन्छ । तत्काल उहाँ कमिटीगत जीवनबाहिर बसेर पनि राजनीतिक बैचारिक मार्गदर्शन गर्न सक्नुहुन्छ । आसन्न महाधिवेशनले उहाँको राजनीतिक हक सुनिश्चित गर्न विवेक पु¥याउने छ ।

नबुझेको कुरा एमालेको नेतृत्वमा विद्या भण्डारी नै ल्याउनु पर्ने जोड किन गर्नुभएको नेताको खडेरी परेर हो ?

– वास्तवमा अहिले गरिनुपर्ने प्रश्न र खोजिनुपर्ने उत्तर यहिँनेर छ । पार्टी जीवनको व्यवस्थापनका सन्दर्भमा अन्तरपार्टी लोकतन्त्र र लोकतान्त्रिक अभ्यासका पर्वतक पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँले नै उमेर हदको किटानीसहित कार्यकालको विषयलाई लिपिबद्ध गर्नुभयो । यो दुबै विषयको विकल्प चाहर्दा नेतृत्व खोजिनु वा नेतृत्वबारे सोचिनु जरुरी थियो । तर अहिले त्यो बेला होइन । फेरि हामी अध्यक्ष कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा मिसन ०८४ हासिल गर्ने शर्तमा संकल्पकृत भएपछि नेतृत्व खोजिनुपर्ने विषय पनि भएन । आज कमरेड अध्यक्षकै कारण हाम्रो पार्टी एमालेले जुन उचाइ लिएको छ, यसलाई बचाइराख्न पनि उत्तिकै हाइट भएको नेतृत्व चाहिएला ! राजनीतिक वैचारिक हिसाबले सुझबुझ सम्पन्न र कार्यकर्ताको न्यायोचित व्यवस्थापन गर्न सक्ने नेतृत्व चाहिएला ! यसतर्फ अलिअलि देखिएको दौडधुपलाई सन्तुलनमा ल्याउन र एकले अर्कालाई स्वीकार्न सकिने पात्रका रुपमा देखिनुभएका समकालीन अनुहारको साझा उपस्थिति चाहिन्छ भन्ने नै हो । विद्यादेवी भण्डारीमा विचारप्रतिको दृढता छ, राजनीतिक आन्दोलनको इतिहासमा इमान, लगन र निष्ठा छ । अनेमसंघको अध्यक्ष हुँदा होस् वा रक्षामन्त्रीको रुपमा रहँदा होस् वा राष्ट्रपतिको भूमिकामा रहँदा होस्, उहाँले देखाउनुभएको दूरगामी महत्वको अग्रसरता, कार्यतत्परता, देशभक्तिपूर्ण निष्ठा आदिको पक्ष तुलनात्मक रुपमा भिन्न छ । नेपाली समाजको वस्तुगत पक्षको अध्ययन निकै गहिरो छ र परिवर्तनको पक्षमा आमनेता, कार्यकर्ता र सर्वसाधारणलाई सँगसँगै लिएर अहोरात्र लाग्ने खट्ने हुटहुटी र छटपटी छ ।

प्रसंग थोरै बदलौं । मदन भण्डारी फाउण्डेसन ठगी खाने भाँडो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै भन्नुभयो । यसअघि मदनका बारेमा बदनाम गर्नेगरी छेडखानी पनि गर्नुभयो । किन उहाँ यतिधेरै रिसाउनुभयो ?

– नेता नेतृत्वका नाममा बनेको संघसंस्था गरिखानका लागि मात्र नबनुन् । ठगिखाने नबनून् भन्ने आशयले भन्नुभएको विषयलाई म चाहिँ सचेत हुनका लागि भन्नुभएको अर्थमा लिन्छु । किनभने मदन भण्डारी फाउण्डेशन जननेता मदनकुमार भण्डारीको दुःखद् देहावसानपछि उहाँकै पहलकदमीबाट बनाइएको हो । फाउण्डेशनमा म स्वयं रहँदाको पनि अनुभव छ । उहाँले फाउण्डेशनका कार्यक्षेत्रका बारेमा प्रशिक्षित गर्नुहुन्थ्यो । फराकिलो कार्यक्षेत्रमा आधारित रहँदै अनुसन्धानमूलक काम गर्न राय सुझाउनुहुन्थ्यो । आफैंले मलजल सिंचित गरेको संस्थाबारे बजारमा चर्चा छाएजस्तो उहाँको अभिव्यक्ति आएको होइन होला जस्तो लाग्छ । जहाँसम्म श्रीमतीको प्रसङ्ग छ, त्यो कालरात्रिका दिनहरुमा नेता बचाउन गाह्रो थियो । मानिसले सोझै आरोप र आक्षेप लगाउँथे भन्ने कोणबाट भन्नुभएको हो । यसलाई अलिक तोडमरोड गरेर बजारको खपतका हिसाबले बुझियो कि भन्ने लाग्छ । इतिहासको त्यो बेलामा सहकारी नै थिएनन् । किन सहकारी भन्नुहुन्थ्यो र ? उहाँले भन्न खोज्नुभएको साझाका बारेमा हो । गाउँका सोझा निमुखा र गरिबमारा केही साझा काण्ड राजनीतिक लडाइँको कालखण्डमा घटेका भए पनि तत्कालीन अवस्थामा पार्टीको कार्यनीतिक योजनाका साथ भए । यो राजनीतिक परिवर्तनको लडाइँको उत्कर्षको समय थियो । अध्यक्ष कमरेडको विषयवस्तुको प्रस्तुतिगत स्वभाव पनि अलिक भिन्नखालको छ । रसिलो र फरासिलो छ । यो पक्षलाई मैलेभन्दा बढी स्वयं विद्यादेवी भण्डारीले बुझ्नुभएको छ । यसकारण यसलाई छेडखानीभन्दा पनि स्वभावजन्य अभिव्यक्ति होला भन्ठान्दछु म चाहिँ ।

यसले राम्रो सन्देश त गएको छैन नि ?

– आजको एमाले निर्माणको प्रश्नमा उहाँहरु दुवैजना एकअर्काको पर्याय र परिपूरक हुनुहुन्छ । कुनै पनि एकजना अर्कोसँग रिसाउनुभएको होला भन्ने मलाई लाग्दैन । सन्देशको कुरा त मैले यसरी बुझ्छु । अर्को कसले कसरी बुझ्छ भन्ने न हो । राम्रोलाई बुझ्ने र बुझेकोलाई प्रवाह गर्नेभन्दा पनि खेदो खन्ने, हिलो छ्याप्ने र अर्काको विपत्तिमा रमाउने चलन बढी छ नि हाम्रोमा । यसकारण पनि दुर्गन्ध बढी चलेको वा चलाइएको होला ।

अन्तिममा, तपाईं सम्मिलित पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे पुनःविचारको कुरा निरन्तर गर्दा कारबाहीमा परिने डर हुँदैन ?

– मलाई रत्तिभर डर छैन । मलाई मात्र होइन, धेरैजनालाई डर छैन । कतिपय कारणले उहाँहरु बोल्न नसक्नुभएको मात्र हो । मैले जे–जति गरेको छु, यो पार्टी निर्माणको पक्षमा बोलेको छु । मिसन ०८४ हात लिने भनेको जनमत आर्जन गर्ने हो । चोइटिएको, चिरिएको र मनोवैज्ञानिक हिसावले परस्पर नमिलेको कार्यकर्ता पंक्तिबाट मिसन ०८४ परिणामका दृष्टिकोणले आर्जन गर्न सकिँदैन भन्ने हो । हिजो सर्वसहमत दुई कार्यकालसम्म राष्ट्रपति बनाइएको व्यक्तित्वलाई बेवास्ता गरेर आन्दोलन बन्छ ? बन्दैन । उहाँले कमाएको ज्ञान र अनुभवलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने हो । व्यवस्थापन कहाँ गर्ने ? कसरी गर्ने ? त्यो त मूल नेतृत्वले गर्ने हो । हिजो चाहिँ राजनीतिक योग्यता चाहिन्छ, त्यो भनेको विद्यादेवी भण्डारी हो भनेर भरविश्वास गरेर राष्ट्रपति बनाइएको हो । जननेता मदनकुमार भण्डारीसँग जोडेर होइन । अनि आज चाहिँ आफ्नो बचेखुचेको समय पूववर्ती राजनीतिक व्यानरमुनि उभिएर व्यतित गर्छु भन्दा फतुर आरोप त लगाउनु भएन नि । एमाले निर्माणका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुई पर्याय मिल्नुपर्छ भनेर जोड दिइएको छ । एकबाट अर्कोलाई अलगै राखेर रजगज गर्न चाहनेलाई बीचमा खेल्न दिनुहुँदैन भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।