नेकपा एमालेको केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिदियो । त्यसपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन र धमाधम भइरहेका पार्टी कमिटीका बैठकहरुमा एमालेका नेताहरुले केन्द्रीय समितिको यो निर्णयसँगै भण्डारीको राजनीतिमा आउने चाहना अब सँधैका लागि बन्द भएको आशय व्यक्त गर्न थालेका छन् । यद्यपि उनको राजनीतिक भविष्यको विषयलाई लिएर एमाले भित्रको बहस अझै चर्किँदै गएको छ । पार्टीको संस्थापन पक्ष भण्डारीको सक्रियताको विपक्षमा उभिए पनि एउटा तप्का भने उनको पुनरागमन अनिवार्य रहेको बताउँदैछ । केन्द्रीय समितिको निर्णय सच्चिनुपर्छ भन्ने विषयमा खुलेर बोल्नेमध्येका एक हुन् केन्द्रीय सदस्य युवराज बास्कोटा । उनले यो निर्णयलाई ‘प्रतिगमन’ सच्चाइएको घटनासँग तुलना गर्दै अन्ततः सच्चिने दाबी गरेका छन् । आसन्न विधान महाधिवेशनले केन्द्रीय समितिको निर्णय उल्टाउने र भण्डारीको राजनीतिक हक सुनिश्चित गर्ने उनको विश्वास छ । प्रस्तुत छ भण्डारीको आवश्यकता, अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी र पार्टीभित्रको आन्तरिक संघर्षबारे बास्कोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रिय हुने घोषणा त घोषणामै सीमित हुने भयो होइन । एमालेले सदस्यतै नवीकरण गरेन नि ?
–होइन । म यस्तो मान्दिनँ । एमाले केन्द्रीय कमिटीको बैठकपछि जारी भएको पछिल्लो सार्वजनिक विषयवस्तुले यस्तो लाग्ला तर यो मात्र पर्याप्त होइन । उहाँका लागि एमालेको राजनीतिक बैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँहरू छन् ।
तपाईंले उहाँका लागि एमालेको राजनीतिक बैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँहरू छन् भन्नुभयो । त्यस्ता ठाउँहरू चाहिँ के के हुन् ?
– संघीय लोकतान्त्रिक गाण्तन्त्र नेपाल कार्यान्वयनमा आएको एक दशकपछि पनि नेपाली समाजको वस्तुगत र मनोगत अवस्थाको सुक्ष्म अध्ययन गर्ने, अध्ययनको सापेक्षमा बिचारको कसीलाई निखार्ने, खार्ने र सामाजिक–आर्थिक परिवर्तन र रुपान्तरणका मुद्दामा आधारित रहँदै हामीले सैद्धान्तिक अस्त्रको रुपमा स्वीकार गरेको जनताको बहुदलीय जनवादका बारेमा यसको झण्डामुनि उभिएर व्यापक स्तरमा अभियान चलाउने, विचारको साँघुरोपन र संकुचित मनका विरुद्ध कार्यकर्ता पंक्तिलाई सचेत तुल्याउने, मानिसका निजी आकांक्षाको तुलो भारी पार्नका लागि विचार मर्न दिनुहुँदैन भनेर कार्यकर्तामा जाने काम गर्न सकिन्छ । राजनीतिक अभिभारा पूरा गर्नु भनेको अर्थराजनीतिका दृष्टिकोणले समाजलाई बलियो र सुदृढ तुल्याउनु हो । यो काम बाँकी नै छ भनेर निर्विघ्न अभियान चलाउनुपर्ने छ । अब यो काम उहाँको नेतृत्वमा हुन्छ, उहाँले गर्नुहुन्छ ।
एमाले नेताहरूले प्रत्येक बैठक र छलफलमा उहाँबारे छलफल गर्नै रोक लगाइएका छन् । कोशी प्रदेश समितिकै बैठकमा पनि निषेध गर्न खोजियो हैन र ?
– आँप, लिचीले झट्टी सहनुपर्छ । तर, खयरको वृक्षले कहिल्यै झट्टी खानुपर्दैन । उहाँको राजनीतिक सक्रियताको बाटो नै बन्द भएको भए फेरि चर्चा चाहिँ किन भइरहन्छ ? यो चर्चाका अघिपछि मनोवैज्ञानिक शङ्का, डर, त्रास आदि त छ नि ! होइन र ? जहाँसम्म भरखरै सम्पन्न एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको कुरा हो । त्यहाँ नेतृत्वको प्रस्तुतिमा अलिअलि राग त देखिन्थ्यो नै । तथापि, राजनीतिलाई विचार र जबजको बैचारिक मर्मअनुरुप व्यवहारको कसीमा बुझ्ने पंक्तिले त कुरा उठाएकै छ । नेतृत्वलाई निर्णय सच्चयाउन दवाव दिएकै छ । केही दिनअघि बागमती, आज कोशी हुँदै यो क्रम बढ्दो छ ।
त्यसो गर्दैमा एमालेले यो निर्णय सच्याउँछ जस्तो लाग्छ तपाईंलाई ? निर्णय सच्याउने ठाउँमा कसरी पु¥याउने ?
– यो अभियानले नै कार्यकर्तालाई जोड्ने हो । जोडिएको कार्यकर्ता पंक्ति यति विषय बुझेपछि आजको आवश्यकतालाई बुझ्छ । आवश्यकताअनुरुपको नेतृत्व खोज्छ र भूमिकामा जोड्न प्रयत्नशील रहन्छ । पार्टी जीवनको व्यवस्थापनमा मैदानमा उत्रिएका दुई फरकफरक परिचयबाहक खेलाडीजस्तो मात्र होइन । फेरि उहाँले कसैलाई सक्न र कसैलाई रोक्न सक्रिय राजनीतिमा आउन लागेको भन्नुभएकै छैन । अहिलेसम्म प्राप्त अध्ययन र अनुभवसहितको ज्ञान राजनीतिक कामको मूल प्रवाहमा जोड्न चाहेको दर्शाइरहनुभएको छ । यदि, कार्यकर्ताले यो पक्षलाई चाहे भने नेतृत्व आफूबाट भए गरिएका निर्णयको परिस्कृत स्वरुप विकास गर्न सक्छ नि ! सक्दैन र ?
एमाले केन्द्रीय समितिले उहाँको सदस्यता नवीकरण नगर्ने भनेर गरेको निर्णय चाहिँ कहिले सच्चिएला त ?
– उहाँको पार्टी सदस्यता नवीकरण भएको विषय सार्वजनिक भइसकेको छ । यो नामेट छ । यसलाई बदर गर्ने, अनादर गर्ने विषय राजनीतिक जीवनका लागि अनुचित घटना हो, सच्चाइनुपर्छ भनेर आवाज उठ्न थालेको छ । समयक्रममा सच्चिन्छ । विधान महाधिवेशनको मञ्चसम्म पुग्दा यो निर्णय सच्चिएर र परिस्कृत भएर आउने छ । हामी कहिले प्रतिगमन आधा सच्चियो, कहिले आंशिक सच्चियो र कहिले पूरै सच्चियो भन्दै आएका कार्यकर्ता पंक्ति हौँ । घटनाक्रममा व्यक्ति र व्यक्तिको भूमिकालाई पढ्ने हो । त्यो क्रम जारी छ । कहिले कमल थापालाई आफ्नो मानियो, कहिले राजेन्द्र लिङ्देनलाई । तर विद्यादेवी भण्डारी चाहिँ आफ्नो पार्टीको नेता नेतृत्व किन हुन नसक्ने ? कार्यकर्ता पंक्तिमाझ विमर्श हुन थालेको छ । यो संगठित ढंगले विधान महाधिवेशनसम्म पुग्दा निर्णय सच्चिन्छ । तत्काल उहाँ कमिटीगत जीवनबाहिर बसेर पनि राजनीतिक बैचारिक मार्गदर्शन गर्न सक्नुहुन्छ । आसन्न महाधिवेशनले उहाँको राजनीतिक हक सुनिश्चित गर्न विवेक पु¥याउने छ ।
नबुझेको कुरा एमालेको नेतृत्वमा विद्या भण्डारी नै ल्याउनु पर्ने जोड किन गर्नुभएको नेताको खडेरी परेर हो ?
– वास्तवमा अहिले गरिनुपर्ने प्रश्न र खोजिनुपर्ने उत्तर यहिँनेर छ । पार्टी जीवनको व्यवस्थापनका सन्दर्भमा अन्तरपार्टी लोकतन्त्र र लोकतान्त्रिक अभ्यासका पर्वतक पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँले नै उमेर हदको किटानीसहित कार्यकालको विषयलाई लिपिबद्ध गर्नुभयो । यो दुबै विषयको विकल्प चाहर्दा नेतृत्व खोजिनु वा नेतृत्वबारे सोचिनु जरुरी थियो । तर अहिले त्यो बेला होइन । फेरि हामी अध्यक्ष कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा मिसन ०८४ हासिल गर्ने शर्तमा संकल्पकृत भएपछि नेतृत्व खोजिनुपर्ने विषय पनि भएन । आज कमरेड अध्यक्षकै कारण हाम्रो पार्टी एमालेले जुन उचाइ लिएको छ, यसलाई बचाइराख्न पनि उत्तिकै हाइट भएको नेतृत्व चाहिएला ! राजनीतिक वैचारिक हिसाबले सुझबुझ सम्पन्न र कार्यकर्ताको न्यायोचित व्यवस्थापन गर्न सक्ने नेतृत्व चाहिएला ! यसतर्फ अलिअलि देखिएको दौडधुपलाई सन्तुलनमा ल्याउन र एकले अर्कालाई स्वीकार्न सकिने पात्रका रुपमा देखिनुभएका समकालीन अनुहारको साझा उपस्थिति चाहिन्छ भन्ने नै हो । विद्यादेवी भण्डारीमा विचारप्रतिको दृढता छ, राजनीतिक आन्दोलनको इतिहासमा इमान, लगन र निष्ठा छ । अनेमसंघको अध्यक्ष हुँदा होस् वा रक्षामन्त्रीको रुपमा रहँदा होस् वा राष्ट्रपतिको भूमिकामा रहँदा होस्, उहाँले देखाउनुभएको दूरगामी महत्वको अग्रसरता, कार्यतत्परता, देशभक्तिपूर्ण निष्ठा आदिको पक्ष तुलनात्मक रुपमा भिन्न छ । नेपाली समाजको वस्तुगत पक्षको अध्ययन निकै गहिरो छ र परिवर्तनको पक्षमा आमनेता, कार्यकर्ता र सर्वसाधारणलाई सँगसँगै लिएर अहोरात्र लाग्ने खट्ने हुटहुटी र छटपटी छ ।
प्रसंग थोरै बदलौं । मदन भण्डारी फाउण्डेसन ठगी खाने भाँडो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै भन्नुभयो । यसअघि मदनका बारेमा बदनाम गर्नेगरी छेडखानी पनि गर्नुभयो । किन उहाँ यतिधेरै रिसाउनुभयो ?
– नेता नेतृत्वका नाममा बनेको संघसंस्था गरिखानका लागि मात्र नबनुन् । ठगिखाने नबनून् भन्ने आशयले भन्नुभएको विषयलाई म चाहिँ सचेत हुनका लागि भन्नुभएको अर्थमा लिन्छु । किनभने मदन भण्डारी फाउण्डेशन जननेता मदनकुमार भण्डारीको दुःखद् देहावसानपछि उहाँकै पहलकदमीबाट बनाइएको हो । फाउण्डेशनमा म स्वयं रहँदाको पनि अनुभव छ । उहाँले फाउण्डेशनका कार्यक्षेत्रका बारेमा प्रशिक्षित गर्नुहुन्थ्यो । फराकिलो कार्यक्षेत्रमा आधारित रहँदै अनुसन्धानमूलक काम गर्न राय सुझाउनुहुन्थ्यो । आफैंले मलजल सिंचित गरेको संस्थाबारे बजारमा चर्चा छाएजस्तो उहाँको अभिव्यक्ति आएको होइन होला जस्तो लाग्छ । जहाँसम्म श्रीमतीको प्रसङ्ग छ, त्यो कालरात्रिका दिनहरुमा नेता बचाउन गाह्रो थियो । मानिसले सोझै आरोप र आक्षेप लगाउँथे भन्ने कोणबाट भन्नुभएको हो । यसलाई अलिक तोडमरोड गरेर बजारको खपतका हिसाबले बुझियो कि भन्ने लाग्छ । इतिहासको त्यो बेलामा सहकारी नै थिएनन् । किन सहकारी भन्नुहुन्थ्यो र ? उहाँले भन्न खोज्नुभएको साझाका बारेमा हो । गाउँका सोझा निमुखा र गरिबमारा केही साझा काण्ड राजनीतिक लडाइँको कालखण्डमा घटेका भए पनि तत्कालीन अवस्थामा पार्टीको कार्यनीतिक योजनाका साथ भए । यो राजनीतिक परिवर्तनको लडाइँको उत्कर्षको समय थियो । अध्यक्ष कमरेडको विषयवस्तुको प्रस्तुतिगत स्वभाव पनि अलिक भिन्नखालको छ । रसिलो र फरासिलो छ । यो पक्षलाई मैलेभन्दा बढी स्वयं विद्यादेवी भण्डारीले बुझ्नुभएको छ । यसकारण यसलाई छेडखानीभन्दा पनि स्वभावजन्य अभिव्यक्ति होला भन्ठान्दछु म चाहिँ ।
यसले राम्रो सन्देश त गएको छैन नि ?
– आजको एमाले निर्माणको प्रश्नमा उहाँहरु दुवैजना एकअर्काको पर्याय र परिपूरक हुनुहुन्छ । कुनै पनि एकजना अर्कोसँग रिसाउनुभएको होला भन्ने मलाई लाग्दैन । सन्देशको कुरा त मैले यसरी बुझ्छु । अर्को कसले कसरी बुझ्छ भन्ने न हो । राम्रोलाई बुझ्ने र बुझेकोलाई प्रवाह गर्नेभन्दा पनि खेदो खन्ने, हिलो छ्याप्ने र अर्काको विपत्तिमा रमाउने चलन बढी छ नि हाम्रोमा । यसकारण पनि दुर्गन्ध बढी चलेको वा चलाइएको होला ।
अन्तिममा, तपाईं सम्मिलित पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे पुनःविचारको कुरा निरन्तर गर्दा कारबाहीमा परिने डर हुँदैन ?
– मलाई रत्तिभर डर छैन । मलाई मात्र होइन, धेरैजनालाई डर छैन । कतिपय कारणले उहाँहरु बोल्न नसक्नुभएको मात्र हो । मैले जे–जति गरेको छु, यो पार्टी निर्माणको पक्षमा बोलेको छु । मिसन ०८४ हात लिने भनेको जनमत आर्जन गर्ने हो । चोइटिएको, चिरिएको र मनोवैज्ञानिक हिसावले परस्पर नमिलेको कार्यकर्ता पंक्तिबाट मिसन ०८४ परिणामका दृष्टिकोणले आर्जन गर्न सकिँदैन भन्ने हो । हिजो सर्वसहमत दुई कार्यकालसम्म राष्ट्रपति बनाइएको व्यक्तित्वलाई बेवास्ता गरेर आन्दोलन बन्छ ? बन्दैन । उहाँले कमाएको ज्ञान र अनुभवलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने हो । व्यवस्थापन कहाँ गर्ने ? कसरी गर्ने ? त्यो त मूल नेतृत्वले गर्ने हो । हिजो चाहिँ राजनीतिक योग्यता चाहिन्छ, त्यो भनेको विद्यादेवी भण्डारी हो भनेर भरविश्वास गरेर राष्ट्रपति बनाइएको हो । जननेता मदनकुमार भण्डारीसँग जोडेर होइन । अनि आज चाहिँ आफ्नो बचेखुचेको समय पूववर्ती राजनीतिक व्यानरमुनि उभिएर व्यतित गर्छु भन्दा फतुर आरोप त लगाउनु भएन नि । एमाले निर्माणका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुई पर्याय मिल्नुपर्छ भनेर जोड दिइएको छ । एकबाट अर्कोलाई अलगै राखेर रजगज गर्न चाहनेलाई बीचमा खेल्न दिनुहुँदैन भन्ने हो ।