लोड हुँदैछ...

मेनु

सांसद मोदीको पहलमा हुलाकी मार्गको कटहरी खण्डमा काम सुरु गर्ने सहमति

सांसद मोदीको पहलमा हुलाकी मार्गको कटहरी खण्डमा काम सुरु गर्ने सहमति

विराटनगर । हुलाकी सडकको मोरङ कटहरी रामचोक–हाटखोलासम्म ६ किलाेमिटर खण्डकाे काम चार दिनभित्र सुरु गर्ने सहमति भएकाे छ ।

सडकको काम तत्काल सुचारु नभए सङ्घीय संसदमै अनसन बस्ने चेतावनी दिएका सांसद मोदीकै पहलमा मङ्गलबार काठमाडौँमा बसेको बैठकले तत्काल सडकको काम सुचारु गर्ने सहमति गरेको हो ।

सडक विभागका महानिर्देशकको कार्यकक्षमा बसेको बैठकमा ठेकेदार पक्षले सडकको काम तत्काल सुचारु गर्न सहमति जनाएको हो । सांसद मोदी र अर्का सांसद योगेन्द्र मण्डल समेतको उपस्थिति रहेको बैठकमा ठेकेदार कम्पनीले ४ दिनभित्र काम सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

सहमति अनुसार काम नभए १५ दिनभित्र ठेक्का तोडिने शर्तनामालाई ठेकेदार पक्षले स्वीकार गरेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए। सहमति अनुसार तत्काल २ वटा रोलर, २ वटा ग्रेडर, ७ देखी १० वटा टिपरसहित ठेकेदार पक्षले कामदार खटाउनेछ ।  १५ दिनभित्रमा बीचको बाटो सहज रुपमा २ तर्फी गाडी संचालन हुने गरि निर्माण कार्य गर्ने सहमति छ।  यस्तै निर्माण व्यवसायीले तत्कालै एक महिनाको कार्यको  कार्य योजना तयार गरि योजना कार्यालयमा ३ दिन भित्र पेश गर्ने र सो बमोजिमको कार्यप्रतिको योजना कार्यालयले निरन्तर अनुगमन गर्ने सहमति भएको सांसद मोदीले जानकारी दिए ।

सहमति अनुसार १५ दिनभित्रमा उल्लेखित कार्य सम्पन्न नभएमा ठेक्का सम्झौता अन्त्य गर्ने र सम्झौता नविकरण नहुने मोदीले बताए । सहमतिमा सडक विभागका महानिर्देशक डा. विजय जैसी,  हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपाली, हुलाकी राजमार्ग योजनाकारले इटहरीका योजना प्रमुख युवराज पोखरेल,  ठेकेदार पक्ष श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि सुभाष श्रेष्ठ, दिनेश कार्की र रामशरण खड्काले हस्ताक्षर गरेका छन्।

मङ्गलबारको संसद बैठकमा मोदीले हुलाकी सडकको कटहरी खण्डमा काम अलपत्र हुँदा नागरिकले सास्ती पाएको विषयमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएका थिए । सोखण्डको काम सुचारु गर्न सभामुखबाट सरकारलाई रूलिङको माग गर्दै उनले अन्यथा सभामुखको रोस्टम अगाडि नै अनसन बस्ने चेतावनी दिएका थिए ।

मोदीको यस्तो चेतावनीपछि सडक विभागमा बैठक बसेर काम सुचारु गर्ने सहमति भएको हो। ‘अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो’ शून्य समयमा सांसद मोदीले भनेका थिए,‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये कटहरीको रामचोकदेखि हाटखोलासम्म ६ किलोमिटर काम ६ वर्षदेखि सुस्त गतिमा छ । निर्माण सुरु भएको ६ वर्षसम्म यो सडकको जम्मा आर्थिक प्रगति २३ प्रतिशत छ । भौतिक पनि सोही बराबर छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि हेटौडाले ७७ करोडमा निर्माणको ठेक्का लिएको थियो । ठेकेदारले काम नगरेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण हिँड्न नसक्ने अवस्था छ ।

यो आयोजनाको थप गरिएको म्याद गत जेठ ३० गते सकिएको छ । निर्माण कम्पनीले पुन २ वर्षको समय माग गर्दै निवेदन दिएको थियो ।

हुलाकी सडक आयोजनाले भने १ वर्ष समय थपका लागि लेखेर पठाएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार सम्झौता नविकरण भएकाे छैन । सहमति अनुसार काम नभए सम्झौता रद्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।