वडाले सिफारिस नदिएपछि नागरिकताबाट बञ्चित : श्रेयाको अध्ययनमा समस्या

एमाले नेता बालेश्वर कामतले १८ वर्षपछि ‘मेरी छोरी हैन’ भनेपछि विराटनगर ८ का वडाअध्यक्ष राम पोखरेलले नागरिकताको सिफारिस दिएनन्

विराटनगर । ‘मेरी छोरीको के दोष ? उसले राम्रोसँग पढेर आफ्नो भविष्य बनाउन खोज्नु अपराध हो ?’ आँखाभरि आँसु पार्दै विराटनगर ८ घर भएकी नम्रता काफ्ले कामतले भनिन्, ‘उसको आफ्नै बुबा र राज्य मिलेर उसको सपना मारिदिँदैछन् ।’
यो कारुणिक कथा हो, विराटनगर–८ की १८ वर्षीया श्रेया कामतको । उनीसँग नेपाली वंशजको नागरिकता भएका नागरिक आमाबुबा छन्, नेपालमै जन्मिएको प्रमाण छ, बाबुले नै सूचक बनेर वडाबाट जारी भएको जन्मदर्ता प्रमाण छ । तर, नागरिकता छैन । नागरिकताकै अभावमा उनको उच्च शिक्षा हासिल गर्ने सपनामाथि तुसारो मडारिएको छ ।

उज्ज्वल भविष्यको सपना बोकेर विज्ञान संकायमा ‘ए’ ग्रेडमा कक्षा १२ उत्तीर्ण गरेकी श्रेया अहिले नर्स बन्ने लक्ष्यसहित तयारीमा छन् । त्यसैका लागि उनी प्रतिष्ठित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ मा प्रवेश परीक्षाको तयारी गरिरहेकी छन् । तर, उनी परीक्षाबाटै बञ्चित हुने जोखिम देखिएको छ । भदौको पहिलो साता हुने परीक्षाको फारम भर्न उनको नागरिकता मागिएको छ । तर, उनीसँग नागरिकता छैन ।

प्रवेश परीक्षामा सामेल हुन नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य भनिएको छ । त्यहिकारण उनी आमा नम्रतासँग नागरिकता बनाउन वडा कार्यालयलदेखि, विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा दर्जनौं पटक धाएकी छन् । तर, नागरिकता बनेको छैन । जसले गर्दा उनको मेहनत र भविष्यको सपना दाउमा परेको छ ।

वडाको असहयोग र बाबुको अमानवीय व्यवहार
छोरीको भविष्यका लागि नागरिकता सिफारिस लिन आमा नम्रता महिनौंदेखि विराटनगर–८ को वडा कार्यालय धाइरहेकी छन् । तर, हरेक पटक उनले रित्तो हात फर्कनुपरेको छ । वडाध्यक्ष राम पोखरेलले सिफारिस दिन ठाडै अस्वीकार गर्दै आएका छन् । उनको एउटै तर्क छ– ‘श्रीमान–श्रीमतीको मुद्दा अदालतमा विचाराधीन छ, त्यसैले सिफारिस दिन मिल्दैन ।’
यो विवादको जडमा छन्, श्रेयाका बुबा बालेश्वर कामत । कामत नेकपा एमाले कोशी प्रदेश सदस्य हुन् । २०६१ सालमा अन्तरजातीय विवाह गरेका बालेश्वर र नम्रताको सम्बन्ध अहिले अदालतसम्म पुगेको छ । तर, यसको सबैभन्दा ठूलो मूल्य निर्दोष छोरी श्रेयाले चुकाउनु परिरहेको छ ।

२०६४ भदौ १४ गते बालेश्वर र नम्रताको जेठी छोरीको रुपमा श्रेयाको जन्म भएको थियो । उनको जन्मदर्ता २०७६ साल भदौ २ गते विराटनगर ८ वडा कार्यालयमा भएको छ । बाबु बालेश्वर कामत आफैं वडामा उपस्थित भएर सनखत गरेपछि उनको जन्मदर्ता जारी भएको थियो । श्रेयाको जन्मदर्तामा कामत नै सूचक छन् ।

श्रेयाले अहिले नागरिकताको सिफारिस नपाउनुको कारण बाबु कामतले मोरङ जिल्ला अदालतमा दायर गरेको मुद्दा भएको वडाध्यक्ष पोखरेलको भनाइ छ । छोरी जन्मिएको १८ वर्षपछि र आफैंले जन्मदर्ता गराएको ४ वर्षपछि कामतले श्रेयालाई ‘मेरी छोरी हैन’ भन्दै अदालतमा जालसाझको मुद्दा दायर गरेका छन् । आफैं सनाखत गरेर र आफैं सूचक बनेर गरेको जन्मदर्तालाई पनि उनले ‘किर्ते’ भनेका छन् ।

बालेश्वर र नम्रताका श्रेयासहित तीन सन्तान छन् । श्रीमानले बारम्बार यातना दिने गर्दै आएकोमा घर निकाला नै गरेपछि नम्रता छोरीलाई लिएर छुट्टै बस्दै आएकी छन् । त्यसछि उनले कामतविरुद्ध घरेलु हिंसा, सम्बन्ध बिच्छेद र अंश मुद्दा दायर गरेकी थिइन् । त्यसको बदलामा कामतले श्रीमती र छोरीविरुद्ध जालसाझ मुद्दा दायर गर्दै श्रेया आफ्नो छोरी नभएको जिकिर गरेका छन् । श्रेयापछि जन्मिएका छोरी र छोरा भने आफ्नै सन्तान भएको उनले मुद्दामा उल्लेख गरेका छन् ।
नम्रताले झुक्याएर किर्ते जन्मदर्ता बनाएको बालेश्वरको आरोप छ । मुद्दा अदालतमा बिचाराधीन छ । अदालतले त्यसबारे कुनै आदेश पनि दिएको छैन । तर, वडाध्यक्ष पोखरेलले सोही मुद्दालाई बहाना बनाएर श्रेयाको जन्मदर्ता सिफारिस दिएका छैनन् । जसले उनको नागरिकता पाउने र अध्ययन गर्न पाउने अधिकार पनि खोसिने अवस्था बनेको छ ।

‘एकातिर श्रीमानले घरेलु हिंसा गर्ने, सम्पत्तिमा अंश नदिन अनेक बहानाबाजी गर्ने र अर्कोतिर आफ्नै सन्तानलाई लाञ्छना लगाएर अदालतमा मुद्दा हाल्ने काम गरेका छन्,’ नम्रताले आफ्नो पीडा पोखिन्, ‘यो कस्तो अन्याय हो ? बाबुछोरीको सम्बन्धलाई समेत उनले आफ्नो हतियार बनाए । अहिले वडा कार्यालयले पनि असहयोग गरेको छ ।’
नम्रताका अनुसार वडाले सिफारिस दिन कहिले महानगरको राय मागेको भन्ने गरेको छ भने कहिले सिडियो र महानगरको सिफारिस ल्याउन भन्ने गरेको छ । सिडियो कार्यालयले भने वडाको सिफारिस आए श्रेयाको नागरिकता बनाउन कुनै समस्या नभएको बताउँदै आएको छ । महानगरले भने सिफरिस गर्ने काम वडाको भएकोले त्यसमा महानगरको कुनै भूमिका नहुने बताउँदै नम्रतालाई फर्काउने गरेको छ ।

कानुन र नैतिकतामाथि वडाको अतिक्रमण
विराटनगर–८ का वडाअध्यक्ष राम पोखरेल, जो बालेश्वर कामतकै पार्टी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले भने आफ्नो निर्णयको बचाउ गरेका छन् । ‘किशोरीका बुबाले जन्मदर्ता नै किर्ते भएको भन्दै वडा सचिव र मविरुद्ध नै अदालतमा मुद्दा हालेका छन्’ उनले भने, ‘मुद्दा किनारा नलागेसम्म हामीले सिफारिस दिन मिल्दैन । कानुनी प्रक्रियाको कुरा हो ।’
पोखरेलले आफ्नो विरुद्ध मुद्दा दर्ता भएको दावी गरेपनि कामतले अदालतमा दायर गरेको मुद्दामा उनको नाम छैन । विराटनगर–८ का पूर्ववडाध्यक्ष निश्चल अर्यालको कार्यकालमा श्रेयाको जन्मदर्ता भएकोले उनीविरुद्ध मुद्दा दायर भएको हो । पोखरेलले भने आफ्नोविरुद्ध मुद्दा भएको झुटो दावी हाम्रोमतसँग गरे ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई पहिचानसहित बाँच्न पाउने हक सुनिश्चित गरेको छ । आमाको नामबाट मात्र पनि नागरिकता प्राप्त गर्नेगरी कानुन बनिसकेको छ । नेपालमा जन्मिएका आमाबाबुको ठेगान नभएकाहरुले पनि नागरिकता प्राप्त गर्ने गरेका छन् ।

श्रेयाकी आमाबाबु दुबै नेपाली नागरिक हुन् । बुबाले नै बनाइदिएको जन्मदर्ता प्रमाणपत्र उनीसँग छ । जबसम्म अदालतले उक्त जन्मदर्तालाई बदर गर्दैन, तबसम्म त्यो कानुनी रूपमा मान्य दस्तावेज भएको कानुन व्यवसायीहरु बताउँछन् । ‘वडा कार्यालयको काम अदालतले फैसला सुनाउने होइन, बरु आफ्नो मातहतबाट जारी भएका कागजातका आधारमा सिफारिस दिने हो’ कानुन व्यवासयीले भने, ‘बाबुले मुद्दा हाल्दैमा छोरीको पहिचान र अधिकारलाई बन्धक बनाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।’

वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले वडाले आफ्ना जिम्मेवारी पुरा नगरेमा त्यसविरुद्ध अदालतमा रिट दायर गरेर श्रेयाले आफ्नो अधिकार प्राप्त गर्नसक्ने बताएका छन् । ‘वडाले नागरिकताको सिफारिस दिनुपर्ने हो,’ उनले भने, ‘दिएन भने अब कुट्न मिलेन, त्यसविरुद्ध अदालतमा रिट दिएर अधिकार प्राप्त गर्न सकिन्छ ।’ नागरिकताको कारण पढाइ बञ्चित हुन लागेको विषयलाई पनि रिटमा समावेश गर्न सकिने उनले बताए ।

वडा कार्यालयले राजनीतिक प्रभावको आधारमा श्रेयाको नागरिकता सिफारिस नदिएको देखिएको छ । यसअघि महानगरसँग कानुनी राय मागेको र त्यो आएपछि सिफारिस दिने बताएका पोखरेलले अहिले सिडियोको पत्र आयो भने मात्र सिफारिस दिने बताउन थालेका छन् । जबकि वडालाई सिडियोले पत्र लेख्ने कुनै आधार र कारण हुँदैन ।

श्रेयाको नागरिकता सिफारिस नदिएकोबारे सोधिएको प्रश्नमा पोखरेलले कहिले एउटा कारण र कहिले अर्को कारण देखाउने गरेका छन् । उनले बालेश्वरकै शैलीमा श्रेया उनको छोरी नभएको आशंकासमेत गरेका छन् । ‘तपार्इंहरुलाई थाहै छैन, विषय अर्कै छ,’ पोखरेलले भने, ‘श्रेया १८ वर्षकी हैन, २२÷२४ वर्षकी भइसकेकी छन् ।’ श्रेया २४ वर्षकी भइसकेको दावी गर्ने पोखरेलले त्यसलाई पुष्टि गर्ने कुनै आधार भने दिएनन् । श्रेया आफ्नो छोरी नभएको बालेश्वरको दावीकै समर्थनमा वडाध्यक्ष पोखरेल उभिएको देखिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यो प्रकरणबारे वडाध्यक्ष पोखरेलले आफूलाई टेलिफोनबाट केही कुरा बताएको भएपनि अहिले सबै विषय सम्झना नभएको बताए । श्रेयाको न्यायको लागि अदालतको रिट एउटा बाटो हुनसक्ने उनको भनाइ छ ।

यो प्रकरणमा एउटी आमा आफ्नो अधिकार र सन्तानको भविष्यका लागि एक्लै संघर्ष गरिरहेकी छन् । बुबा बालेश्वर भने आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै परिवारलाई नै तहसनहस बनाउन उद्यत देखिन्छन् । यसअघि उनले अदालत परिसरमै नम्रतालाई मुद्दा फिर्ता लिन धम्कीसमेत दिएका थिए ।

तस्बिर : श्रेया कामतको जन्मदर्ता प्रमाणपत्र र तीन वर्ष अगाडी छोरी श्रेयालाई दशैंमा टीका लगाइदिदै बावु बालेश्वर र आमा नम्रता ।

साउन २७, २०८२, बिहानको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर