विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा सृङ्खलाबद्ध रूपमा चोरी भएका ट्रान्सफर्मरहरू यहाँका फ्याक्ट्री र कवाडी पसलहरूमा विक्री वितरण हुने गरेको पाइएको छ ।
एक वर्षमा यी तीन जिल्लाहरूमा चोरी भएका २२ वटा ट्रान्सफर्मरहरू मोरङ र सुनसरीका फ्याक्ट्री र कवाडी पसलहरूमा विक्री वितरण हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।गत माघ १० गतेदेखि हालसम्म तीन जिल्लाहरूमा २२ वटा ट्रान्सफर्मर चोरी भएको छ । मोरङमा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा विभिन्न मितिमा ट्रान्सफर्मर चोरी भएको थियो ।
प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसहित ७ जनालाई पक्राउ गरेको छ । चोरी गरिएको ट्रान्सफर्मर खरिद गर्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले जानकारी दिए ।
ट्रान्सफर्मर चोरीमा पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–४ बस्ने ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), सोही ठाउँका ३१ वर्षीय इरज धामी, सुनसरी दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विश्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका–४ कसेनी बस्ने २६ वर्षीय अर्जुन चौधरी, भारत घर भएर हाल सुनसरी दुहवी नगरपालिका वडा नं. ४ मलाटीमा ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ, बेलबारी नगरपालिका–३ का २७ वर्षीय रञ्जित तामाङ र दुहवी नगरपालिका–२ बस्ने ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी रहेका छन् ।
‘झापा, मोरङ र सुनसरीमा चोरी गर्ने गिरोहको एउटै समूह रहेको पाइएको छ । चोरी गर्ने गिरोह अनुभवी र प्राविधिक ज्ञान भएका दक्ष रहेका छन् । उनीहरूले ट्रान्सफर्मर चोरी गर्न भर्याङको पनि प्रयोग गरेको पाइएको छ,’ डिआइजी कार्कीले भने ।
‘अग्लो ठाउँहरूमा लिस्नोे प्रयोग गरेको पाइएको छ । ट्रान्सफर्मर भित्रको तामाको क्वायल(तार) चोरी गरेपछि बोक्नका लागि गाडी प्रयोग गरेको पाइएको छ । हामीले चोरीमा संलग्न भएको गाडी र मोटरसाइकल पनि बरामद गरेको छ,’ डिआइजी कार्कीले भने ।
सृङ्खखलाबद्ध रूपमा चोरी भएका ट्रान्सफर्मरहरू एक उद्योगसहित ७ वटा पसलमा विक्री गरेको पाइएको छ । चोरीमा संलग्न गिरोहहरूले चोरी गरेका ट्रान्सफर्मरहरू लक्ष्य प्रधानले संचालन गरेको कवाडी पसल, इटहरी उपमहानगरपालिका–४ बस्ने ३९ वर्षीय सीताराम राईको भाडा पसल, मोरङ बुढीगंगा गाउँपालिका–३ स्थित विनय शाहको एसएस मेटल फ्याक्ट्री, विराटनगर–६ बस्ने ४४ वर्षीय अजयकुमार साहले संचालन गरेको दुर्गा भाडा पसल, कृष्ण गोपाल ताम्राकारले संचालन गरेको मनकामना मेटल्स एण्ड सप्लायर्स र इटहरीमा दिलिप चौधरीले संचालन गर्दै आएको दिलिप कवाडीमा विक्री गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेर ल्याएको थाहा पाउँदा पाउँदै पनि खरिद गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो । चोरीको सामान खरिद गर्दा पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–३ बस्ने ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहवी नगरपालिका–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहवी नगरपालिका–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सीताराम राई रहेका छन् ।
प्रहरीले उनीहरूको पसलबाट ३६८.५ केजी तामाको क्वायल पनि बरामद गरेको छ ।२५० केभिएको ट्रान्सफर्मरलाई ९ लाख रुपैयाँ पर्ने गर्दछ । तर, उनीहरूले चोरी गरेपछि २ लाख रुपैयाँमा विक्री गर्ने गरेको खुलेको डिआइजी कार्कीले बताए ।
‘चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेपछि अहिले ट्रान्सफर्मर चोरीको घटना भएको छैन,’ उनले भने, ‘अहिले पक्राउ परेका गिरोह प्राविधिक ज्ञान भएका पोख्त व्यक्तिहरू हुन् ।’प्रहरीले चोरीमा प्रयोग भएका उपकरणहरू पनि बरामद गरेको छ ।
प्राधिकरणको उजुरीपछि अनुसन्धान
सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा विद्युत आपूर्तिका लागि जडान गरिएका ट्रान्सफर्मरहरू लगातार चोरी भएपछि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहले प्रदेश प्रहरीमा घटनाको अनुसन्धान गर्न उजुरी दिएका थिए ।
त्यसपछि प्रदेश प्रहरी कार्यालयले ३५ जनाभन्दा बढीको अनुसन्धान टिम गठन गर्यो । त्यसपछि प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टिमले चोरीमा संलग्न गिरोह पत्ता लगाएको हो । यो घटनामा प्रदेश प्रहरी, मोरङ र सुनसरी प्रहरीले संयुक्त रूपमा अनुसन्धान गरेको छ ।
चोरहरूले ट्रान्सफर्मर चोरी गर्न उच्च प्राविधिक सीप प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । ११ हजार भोल्टको तार सर्ट गराएर लाइन काट्ने र ट्रान्सफर्मर झारेर भित्रको तामाको क्वाइल निकाल्ने मुख्य उद्देश्य रहन्छ । चोरी हुने ट्रान्सफर्मरहरू ५० केभी र १०० केभी क्षमताका हुने गरेका छन् ।
५० केभीको ट्रान्सफर्मरको मूल्य ५ देखि ६ लाख रुपैयाँ पर्छ भने १०० केभीको मूल्य ११ देखि १२ लाख रुपैयाँसम्म पर्छ। यसरी २२ वटा ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई २ करोड २० लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति पुगेको छ । यो रकममा बक्यौता नउठ्ने नोक्सानी र प्रतिस्थापन खर्च थप गरिएको छैन ।
यसरी पक्रियो चोर गिरोह
सृङ्खलाबद्ध रूपमा तीन जिल्लाहरूमा ट्रान्सफर्मर चोरी भएपछि प्रहरीलाई टाउकोको दुखाइ भएको थियो । प्रहरीले यस चोरीको घटना अनुसन्धान गर्न विशेष टिम परिचालन गरेको थियो ।
यही क्रममा साउन ९ गते मोरङ रङ्गेली नगरपालिका–९ इटाभट्टा टोल स्थित खानेपानी आयोजनाको ट्रान्सफर्मरको छेउमा संदिग्ध अवस्थामा २ वटा मोटरसाइकलमा ३ जना मानिसहरू आए । प्रहरी टोलीलाई देख्नासाथ उनीहरू फरार भए ।
सोही स्थानमा डिप बोरिङ संचालनार्थ जडान गरिएको ट्रान्सफर्मर राखेको पोलमा चढिरहेको अवस्थामा मोरङ ग्रामथान गाउँपालिका–४ बस्ने ४२ वर्षीय अर्जुनकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि तीन जिल्लामा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल भएको डिआइजी कार्कीले पत्रकार सम्मेलनमा बताए । ‘लामो प्रयासपछि हामीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहको सञ्जाललाई पक्राउ गर्न सफल भएका छौं,’ उनले भने ।
प्रहरीले ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएका विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, प्लायर्स ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैंची १ थान, ह्याक्सो ब्लेड ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेक्ट्रिक ग्राइन्डर सहितको सेट १ थान बरामद गरेको छ ।
ट्रान्सफर्मर चोरीमा प्रयोग भएका ५ थान मोटरसाइकल र को १ च ७७२९ नम्बरको सेतो रङको पिकअप गाडी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई मोरङ प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।