भारत र बंगलादेशमा १७ अर्ब ४६ करोडको विद्युत निर्यात

विराटनगर । नेपालले गत आर्थिक वर्ष २०८१–८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरेको हो । यो अवधिमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात भएको छ ।

आयातको तुलनामा निर्यात उच्च भएकोले प्राधिकरणले विद्युतको वैदेशिक ब्यापारबाट ४ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको छ भने आयात घटेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो ।

अघिल्लो वर्ष भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ ।

वर्षायाममा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा उत्पादन घट्ने भएकोले भारतबाटै बिजुली आयात गरिन्छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले २०८०–८१ मा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको घोषणा गरेका थिए । गत वर्ष भने खुद निर्यातको मात्र उच्च बनेको छ ।

भारत सरकारले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत् लैजान अनुमति दिएको थियो । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । अहिले ७ सय देखि ८ सय मेगावाटसम्म बिजुली निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणबाट कुलमान घिसिङ हटेपछि भने विद्युतको चुहावट बढेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो एक दशकमा चुहावट आधा घटाएको प्राधिकरणको तथ्याङ्कमा पछिल्लो अबधिमा भने चुहावट बढेको हो । चुहावट बढ्दा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब रुपैयाँ गुमाएको छ ।

गत चैत दोस्रो साता प्राधिकरणको नेतृत्व सम्हालेका हितेन्द्रदेव शाक्यले चुहावट रोकथामका लागि ठोस कदम नचाल्दा प्राधिकरणले वितरण चुहावट बापत १२ अर्ब गुमाउनु परेको हो । प्राधिकरणले प्रादेशिक कार्यालयहरुबाट संकलन गरेको तथ्यांक अनुसार वितरण चुहावट १.१७ प्रतिशत विन्दुले बढेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १२.२० प्रतिशतको वृद्धि हो ।

वितरण चुहावट अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९.५९ प्रतिशत रहेकामा गत आव २०८१–८२ मा १०.७६ प्रतिशत पुगेको हो । १२ करोड युनिट विद्युत चुहावट भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

साउन २१, २०८२, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर