विराटनगर । मोरङको पथरीशनिश्चरेबाट वन्यजन्तु जरायोको सिङसहित आइतबार साँझ दुई जना पक्राउ परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको थियो । गुरुङको घरबाट ३ जोर (६ वटा) सिङ बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ । जरायोको सिङ कहाँबाट ल्याइएको थियो भनेर यकिन भइसकेको छैन । वन कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।
सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार दुवै जनाविरुद्ध वन्यजन्तुको अवैध आखेटोपहार सम्बन्धी मुद्दा चलाउने तयारी छ ।