विराटनगर । विराटनगरका संगीतप्रेमी, विशेषगरी युवा पुस्तामाझ चर्चित ‘रकहेड्स’ ब्यान्डको सांगीतिक प्रस्तुति हेर्ने अवसर जुरेको छ । विराटनगर – ११ मा अवस्थित नेपाल बिजनेश कलेजका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमको व्यावहारिक अभ्यासका क्रममा यही साउन २५ गते जैन भवनमा यो भव्य सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् । बीबीए सातौँ सेमेस्टरका विद्यार्थीहरुले आयोजना गर्न लागेको यो कार्यक्रम शैक्षिक ज्ञानलाई व्यवहारमा उतार्ने र सामाजिक सेवामा लगाउने अनुकरणीय प्रयास हो ।

कलेजले आइतबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे विस्तृत जानकारी दिएको हो । यो कार्यक्रम विद्यार्थीहरुको ‘इभेन्ट म्यानेजमेन्ट’ विषयको प्रयोगात्मक हिस्सा भएको कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाले बताए । ‘विषयको पाठ्यक्रममा २० अङ्कको प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरु आफैँले कुनै कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो कार्यक्रमले विद्यार्थीहरुलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई वास्तविक संसारमा कसरी लागू गर्ने भन्ने सिकाउँछ,’ कोइरालाले भने, ‘सहयोगी दाता खोज्नेदेखि लिएर कलाकार छनोट र कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरुले नै गरेका छन्, जसले उनीहरुको व्यवस्थापकीय क्षमता र आत्मविश्वास बढाउँछ ।’

यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक उत्तरदायित्व हो । सांगीतिक कार्यक्रमबाट उठेको सम्पूर्ण मुनाफा विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रमलाई सहयोग गरिनेछ । यसले विद्यार्थीहरुलाई अध्ययनसँगै समाजसेवामा पनि उत्प्रेरित गर्ने कलेजको विश्वास छ । ‘कलेजले यसलाई ‘मेगा इभेन्ट’ को रुपमा लिएको छ, ताकि विद्यार्थीहरुले वास्तविक चुनौती र अवसरहरुको सामना गर्न सिकून् ,’ उनले भने ।


यो कलेजले आयोजना गरेको दोस्रो संस्करणको सांगीतिक कार्यक्रम हो । गत वर्षको कार्यक्रमको सफलतापछि यसपटक अझ भव्य बनाउन लागिएको बीबीए सातौँ सेमेस्टरकी छात्रा प्रतिज्ञा ढुंगानाले बताइन् । उनी र उनका सहपाठीहरु अहिले कार्यक्रमको तयारीमा जुटेका छन् । ‘इभेन्ट म्यानेजमेन्ट हाम्रो महत्वपूर्ण विषय हो र यसै अन्तर्गत रहेर हामीले यो च्यारिटी कार्यक्रम गर्न लागेका हौँ, यसले हामीलाई व्यावहारिक ज्ञान दिइरहेको छ ,’ अर्की छात्रा सरिता यादवले पत्रकार सम्मेलनमा भनिन् ।
कार्यक्रम सम्पन्न गर्न करिब साढे चार लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बीबीए कै छात्र संगीत अधिकारीले जानकारी दिए । उनले भने, ‘रकहेड्स’ ब्यान्ड अहिलेका युवा पुस्ताले निकै रुचाएको ब्यान्ड हो, त्यसैले उहाँहरुको प्रस्तुतिले कार्यक्रममा रौनक थप्नेछ ।’ कार्यक्रममा विराटनगर र आसपासका २ हजार ५ सयभन्दा बढी युवाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुनका लागि एक सय रुपैयाँको टिकट शुल्क तोकिएको छ ।
सन् २०१४ मा स्थापना भएको नेपाल बिजनेश कलेजमा हाल एमबीए, बीबीए, बीआईटी र बीएचएम तहमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । कलेजले सैद्धान्तिक ज्ञानका साथै यस्ता प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिँदै आएको छ, जसले विद्यार्थीहरुलाई भविष्यको व्यावसायिक जीवनका लागि तयार पार्न मद्दत पु¥याउँछ ।