विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्पतालमा उपचाररत एक बालिकालाई ‘मृत’ घोषणा गरेको पाइएको छ । अस्पतालमा उपचाररत विराटनगर ६ कि एक बालिकालाई प्रहरीले सोमबार मृत घोषणा गरेको हो ।
विराटनगर–६ की ४ वर्षीया आरुषी पासवानको अहिले पनि विराटनगरको नोबेल मेडिकल कलेजको एनआईसियु कक्षमा उपचार भइरहेको छ । तर, कोशी प्रदेश प्रहरी कार्यालयले सोमबार विहान ११ बजेर ५३ मिनेटमा बालिकालाई मृत घोषणा गरेको थियो ।
प्रदेश प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेज र अनलाईनमा बालिकाको मृत्यु भएको सूचना अहिले पनि रहेको छ । तर, बालिकाको नोबलमा उपचार भइरहेको अस्पताल र आफन्तले बताएका छन् ।
आइतबार दिउँसो घरनजिकैको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबेकी बालिकालाई तत्कालै विराटनगर ११ स्थित गोल्डेन अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डलका अनुसार बालिकालाई आइतबार दिउँसो १ः२५ बजे गम्भीर अवस्थामा ल्याइएकी बालिकालाई चिकित्सक टोलीले करिब ३० मिनेट निरन्तर हृदय पुनःसञ्चालन प्रक्रिया (सिपीआर) गरेर बालिकाको ज्यान जोगाउन सफल भएको थियो ।
‘बालिकाको मुटु रोकिएको अवस्था थियो । तर, चिकित्सकले समयमै प्रयास गरी पुनर्जीवन दिन सफल भए’ मण्डलले भने, ‘अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष यादवले बालिकाको अवस्था बुझाउँदै थप उपचारका लागि एनआईसीयूमा भर्ना गरेका थिए ।’ बालिकाको अवस्था गम्भीर रहेको परिवारलाई जानकारी दिएपछि उनीहरुले थप उपचारको लागि भन्दै सोमबार विहान १० बजेपछि रेफर लिएर नोबेल मेडिकल कलेज लगेका थिए ।
अहिले बालिकाको नोबेलको एनआइसियू भेन्टिलेटरमा राखेर उपचार भइरहेको काका गणेश पासवानले जानकारी दिए । मंगलबार विहान एकपटक बालिकाले आँखा खोलेर हात पनि चलाएको उनको भनाइ छ । ‘बोलेको चाहिँ छैन, तर उपचार हुँदैछ,’ उनले भने ।
नोबेल मेडिकल कलेजले बालिकाको अवस्था गम्भीर रहेको भएपनि उपचारको क्रममा रहेको बताएको छ । एनआईसियुको भेन्टिलेटरमा बालिकाको उपचार भइरहेको र अवस्थामा केहि सुधार भएको जस्तो देखिएको नोबेलको भनाइ छ ।
प्रहरीको भ्रामक सूचना र समाचार
बालिकाको अस्पतालमा उपचार जारी रहेको भएपनि प्रहरीको गलत सूचनाको कारण कतिपय सञ्चार माध्यमले पनि बालिकको मृत्यु भइसकेको गलत समाचार संप्रेशण गरेका पाइएको छ । बालिका जिवितै रहेकोमा गोल्डेनमा मृत्यु भएको भन्दै आफ्नो अस्पताल बद्नाम गर्ने उद्देश्यले समाचार आएको गुनासो अस्पतालले गरेको छ ।
प्रहरी सञ्चार माध्यमले भने प्रहरीको गलत सूचनाको आधारमा समाचार संप्रेशण गरेको देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सोमबार दिउँसो ११ः५३ बजे आफ्नै आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत बालिकाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो ।
‘विराटनगर–६ स्थित धुधुवा खोलामा डुबेर दीपक पासवानकी छोरी ४ वर्षीया आरुषी पासवानको मृत्यु भएको छ । उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो,’ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको फेसबुक पेजमा र अनलाईनमा अहिले पनि उक्त सूचना रहेको छ । प्रदेश प्रहरीले बालिकाको मृत्यु भएको सूचना अझै नहटाएको बेला नोबेलस्थित प्रहरी युनिटले बालिकाको नोबेलमा उपचार भइरहेको जानकारी दिएको छ ।
प्रदेश प्रहरीको विवरणका आधारमा विराटनगरका केही अनलाइन मिडियाले ‘गोल्डेन अस्पताल ल्याइएको बालिकाको मृत्यु’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए । बालिकाको परिवार, अस्पताल र अन्य सरोकारवालाले प्रहरीको यस्तो हतारो निर्णय र गैरजिम्मेवार जानकारीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
गोल्डेन अस्पतालको आपत्ति
गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डलले गलत सूचना प्रवाह गर्ने प्रहरी र त्यसलाई आधार मानेर तथ्यहीन समाचार प्रकाशित गर्ने अनलाइन मिडियाप्रति आपत्ती जनाएका छन् । ‘अस्पतालको प्रतिष्ठामाथि ठुलो आघात पुर्याउने गरी भ्रामक, नियोजित र झुटो समाचार सम्प्रेषण गरियो,’ उनले भने, ‘हामीले तथ्य स्पष्ट पारी विरामीलाई जिवितै रेफर गरेका हौं । तर, यसरी मिडिया र प्रहरीको गैरजिम्मेवार व्यवहारले चिकित्सकको मनोबल र अस्पतालको छवि दुबैमा असर पारेको छ ।’

बालिकाको उपचार भइरहेको बेला आइतबार साँझ करिब ५०–६० जनाको भीड आएर सघन उपचार कक्षमा हुलहुज्जत गर्दै ढोका तोडफोड प्रयाससमेत गरेको गोल्डेन अस्पतालले जनाएको छ । अस्पताल प्रशासन प्रमुख मो.ज्याउल हकका अनुसार भिडले स्वास्थ्यकर्मीहरूमाथि दुव्र्यवहार गर्दै अस्पताल तोडफोडको प्रयास गरेको थियो ।
‘हामीले प्रहरीलाई तुरुन्तै बोलाएर अवस्था नियन्त्रणमा लिएका थियौं,’ हकले भने, ‘भीडका कारण उपचार प्रक्रिया पनि प्रभावित हुनपुग्यो । त्यसैले हामीले मोरङ प्रहरीमा औपचारिक उजुरी दिँदै कानुनी कारबाही प्रक्रिया अघि बढाएका छौ ं।’ उनका अनुसार बालिकाको परिवारले थप उपचारको लागि रेफर लिने प्रक्रिया अगाडि बढाएको बेला असम्बन्धित समूह आएर अस्पतालमा हुलदंगा गरेको थियो ।
घटनापछि आएको प्रहरीले बालिकाको उपचार गर्न भनेपछि गोल्डेन अस्पतालमै रातभर उपचार गरेपछि आफन्तले नोबेल लगेको गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डलले जानकारी दिए । ‘गोल्डेनलाई बद्नाम गर्ने नियोजित योजना अनुसार बालिकासँग असम्बन्धित पक्षले आएर हुलदंगा गरेको थियो’ उनले भने, ‘त्यसपछि जिवितै रहेकी बालिकालाई मृत्यु भएको समाचार संप्रेशण हुनु पनि अस्पताल बद्नाम गर्न गरिएको प्रचार हो ।’
गोल्डेनले अस्पतालमा हुलदंगा गर्ने समूह सिसिटिभी फुटेजमा चिनिएको भन्दै उनीहरुविरुद्ध कानुनी उपचारमा जाने बताएको छ । यस्तै, अस्प्ताललाई बद्नाम गर्न गलत समाचार संप्रेशण गरिएको भन्दै उसले त्यसको पनि कानुनी उपचार खोज्ने बताएको छ ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।