विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको गत फागुनमा भएको ‘कोशी विचार उत्सव’ को नामा ठगी भएको भन्दै उजुरी परेको छ ।
बिणा फाउण्डेशनको आयोजनामा २०८१ फागुन १५, १६ र १७ गते विराटनगरमा आयोजना भएको उत्सवले विभिन्न कामको भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको हो ।
कार्यक्रमका लागि फाउण्डेसनले प्रयोग गरेको टेन्ट हाउस, साउण्ड सिस्टम, होटल, प्रेस छपाई, विज्ञापनलगायतको खर्च नदिएको भन्दै उजुरी परेको हो । उजुरीमा ट्रेड हाउस साउण्ड सिस्टम, नेशनल साउण्ड सिस्टम र गीता टेन्ट हाउसको ३ लाख, होटल स्वागतममा बसेको र खाएको २ लाख ६४८ रुपैयाँ, मयुरी डिजिटल प्रेसको ९९ हजार, एमएनएम प्रिन्टिङ प्रेसको १ लाख १६ हजार र मकालु मिडिया प्रा.लि.को १ लाख ५० हजार रुपैयाँ भुक्तानी नदिएको उल्लेख छ ।
‘हाम्रो रकम नदिई फोन गर्दा आज–भोलि गरिरहँदा हाम्रो व्यवसाय धरासायीमा पारी ठूलो समस्या परेको हुँदा न्याय पाउन निवेदन गरेका छौं,’ जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार दिएको निवेदनमा उल्लेख छ, ‘विणा फाउडेशनलाई प्रहरीद्वारा झिकाइ कार्यक्रममा हामीलाई खटाई हाम्रो रुपैयाँ नदिई ठगी गर्न खोजेकोले कडाभन्दा कडा कानुनी कारबाही गरी रकम असुल उपर गरि पाउँ ।’
कोशी विचार उत्सवको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका थिए । झसामाजिक सञ्जालमा नकारात्मक भावनाको भेल आइरहेको बेला नवयुवाहरूले मुर्धन्य व्यक्तित्वहरूलाई आमन्त्रण गरेर खुल्ला सडकमा विचार उत्सव गर्नु खुशीको विषय भएको भन्दै उनले कार्यक्रमको प्रशंशा गरेका थिए । उत्सवमा मुख्यमन्त्री कार्कीसँग पत्रकार ऋषि धमलाले गरेको संवादमा चर्काचर्की भएको थियो ।
विणा फाउण्डेसनका सञ्चालक बरुण झाले भुक्तानीमा केही समय ढिलो भएको स्वीकार गर्दै भुक्तानी गर्ने बताएका छन् । ‘हामीले नदिने भनेका छैनौं । उहाँहरुबाट बिल लिइसकेपछि हामीले भुक्तानी गर्नुपर्छ’ उनले भने, ‘ढिलो चाँडो भुक्तानी हुन्छ ।’

