लोड हुँदैछ...

मेनु

झापामा लागुऔषध कारोबारी समात्न प्रहरीले गोली चलायो, भारतीय युवक घाइते

झापामा लागुऔषध कारोबारी समात्न प्रहरीले गोली चलायो, भारतीय युवक घाइते

विराटनगर । झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ।

गोली लाग्नेमा भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम छन्। शनिबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए। सो क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली चलाएको थियो। एक गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार मोहम्मदको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको र हाल घाइते मोहम्मदको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।