विराटनगर । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधविरुद्धको अभियानमार्फत २६ हजार ७०५ किलो तयारी गाँजा बरामद गर्दै १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको छ।

सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद भएको छ। अभियानमा संलग्न १८९ जना पक्राउ परेका छन् ।

गाँजा ओसारपसारका लागि एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट, तरकारी गाडी र जमिनमुनि लुकाउनेजस्ता तरिका प्रयोग भए पनि प्रहरीको विशेष सूचनाअनुसारका कारबाहीले ती प्रयास विफल भएका छन्।

कारबाहीका क्रममा १०६ सवारीसाधन नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार २ हजार ४६४ रोपनी क्षेत्रमा लगाइएका गाँजा खेती पनि नष्ट गरिएको छ।